राजनीति

विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैन : भण्डारी

नेपाली कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार तथा राजनीतिक दलहरू विधि, विधान र संवैधानिक व्यवस्थाभन्दा बाहिर जान नहुने बताउनुभएको छ।

विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैन : नेता भण्डारी

कांग्रेसभित्रै महाधिवेशनको मिति र नेतृत्वको विषयलाई लिएर विवाद चर्किरहेका बेला उहाँले पार्टी तथा राज्य सञ्चालनमा विधि र विधानको पालना अनिवार्य रहेको बताउनुभएको हो।

नेपाली कांग्रेस क्षेत्र नं. १ गुल्मीले रुरुक्षेत्र गाउँपालिका–१ मा आयोजना गरेको क्षेत्रीय अधिवेशनमा बोल्दै भण्डारीले राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र, विधि र विधानलाई कमजोर पार्न नहुने बताउनुभयो। उहाँले सबै राजनीतिक दल मिलेर सरकारका कामकारबाहीमाथि खबरदारी गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि गर्ने तयारी भइरहेको छ। यद्यपि पार्टीभित्र महाधिवेशनको मिति, प्रक्रिया र नेतृत्वलाई लिएर मतभेद कायमै छ।

कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने मंसिरमा महाधिवेशन गर्ने गरी छुट्टै प्रक्रिया अघि बढाएको छ। दुई पक्षबीच महाधिवेशनको वैधानिकता र नेतृत्व हस्तान्तरणको विषयमा देखिएको मतभेदले कांग्रेसको आन्तरिक विवाद थप जटिल बन्दै गएको छ।

पार्टीभित्रको विवाद समाधान हुन नसके कांग्रेस विभाजनको नजिक पुगेको भन्दै राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

यद्यपि कांग्रेसका नेताहरूले पार्टी एकता जोगाउँदै विधि र विधानअनुसार निकास खोज्नुपर्ने बताउँदै आएका छन्। यही सन्दर्भमा भण्डारीको विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई नरहेको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भण्डारीले सत्ता सञ्चालनका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै राजनीतिक नेतृत्वले विगतका पुस्ताले गरेको संघर्ष र योगदानबाट पाठ सिक्नुपर्ने बताउनुभयो।

उहाँले पुर्खा तथा अघिल्लो पुस्ताले व्यक्ति केन्द्रित सोचबाट माथि उठेर ‘हामी’, ‘हाम्रो’ हुँदै अन्ततः सिङ्गो देश निर्माण गर्ने उद्देश्यका लागि अधिकारको लडाइँ लडेको स्मरण गर्नुभयो।

उहाँले राजनीतिक दलभित्र व्यक्ति र गुटलाई केन्द्रमा राखेर निर्णय गर्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कार कमजोर बनाउने बताउनुभयो। पार्टीको नेतृत्व तथा सरकार सञ्चालनमा विधि, विधान र संस्थागत प्रक्रियालाई प्राथमिकता दिन सके मात्र लोकतन्त्र बलियो हुने उहाँको भनाइ थियो।

भण्डारीले अहिलेको राजनीतिक परिस्थितिमा दलहरूबीच सहकार्य र खबरदारी दुवै आवश्यक रहेको बताउनुभयो। सरकारका कमजोरीप्रति जिम्मेवार ढंगले प्रश्न उठाउने र आवश्यक सुधारका लागि दबाब दिने दायित्व राजनीतिक दलहरूको समेत रहेको उहाँको भनाइ थियो।

कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रियालाई लिएर देखिएको विवादले पार्टीको आगामी राजनीतिक दिशा र नेतृत्व चयनमा समेत प्रभाव पार्ने देखिएको छ। असोजमा प्रस्तावित महाधिवेशन र देउवा पक्षले मंसिरका लागि अघि सारेको महाधिवेशनको तयारीबीच सहमति जुट्न नसके विवाद थप चर्किन सक्ने कांग्रेस नेताहरूको चिन्ता छ।

यस्तो अवस्थामा पार्टीलाई विभाजनतर्फ लैजानुभन्दा संस्थागत निर्णय, विधान र लोकतान्त्रिक प्रक्रियाबाट विवाद समाधान गर्नुपर्नेमा कांग्रेसभित्रै आवाज उठ्दै आएको छ। भण्डारीको भनाइ पनि पार्टीभित्रको वर्तमान विवादलाई विधि र विधानकै आधारमा समाधान गर्नुपर्ने सन्देशका रूपमा आएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.