सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिनुभएको छ ।
मधेस प्रदेशस्थित नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीलगायत मातहत गण, गुल्म तथा बोर्डर आउट पोष्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई उहाँले सो निर्देशन दिनुभएको हो ।
महानिरीक्षक पौडेलले सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग सीमा सुरक्षा एवं समसामयिक विषयमा हाल भइरहेका कामकारबाहीबारे जानकारी लिनुभएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
त्यस क्रममा उहाँले सो क्षेत्रमा कार्यरत कमाण्डरलाई सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण तथा रोकथामलाई थप सुदृढ गर्दै उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।
सीमा इलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणका लागि समयमा नै योजना बनाई सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित भई नतिजामुखी काम गर्न निर्देशन दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्