जापान

कोबेमा छुट्टाछुट्टै गोलीकाण्ड : एकजनाको मृत्यु, एक घाइते

जापानको कोबेमा बुधबार भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । तुलनात्मक रूपमा सुरक्षित मानिने जापानमा यस किसिमका गोलीकाण्ड निकै दुर्लभ मानिन्छन् ।

पहिलो तथा घातक गोलीकाण्ड कोबे सहरको चुओ वार्डमा भएको हो । दिउँसो करिब १ः१५ बजे प्रहरीलाई खबर गरिएपछि ५८ वर्षीय मासायुकी अकादा घाइते अवस्थामा सडकमा लडिरहेको भेटिएका थिए । कम्पनीका कार्यकारी अकादालाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसको केही मिनेटपछि कोबेकै ह्योगो वार्डमा अर्का एक पुरुषमाथि गोली प्रहार भएको थियो । उनको अवस्था भने गम्भीर नरहेको बताइएको छ ।

यस घटनाको सम्बन्धमा प्रहरीले सोही दिन ७९ वर्षीय नाओतो कामेतानीलाई हत्या प्रयासको आरोपमा पक्राउ गरेको छ । पूर्व याकुजा सदस्य रहेको बताइएका कामेतानीले प्रहरीसमक्ष आरोप स्वीकार गर्दै आफूविरुद्धको प्रहरी आशंकामा ‘कुनै गल्ती नभएको’ बताएका छन् ।

द जापान टाइम्सको रिपोर्ट अनुसार कामेतानीमाथि आवासीय क्षेत्रमा पार्किङ गरिएको कारभित्र रहेका ५४ वर्षीय पुरुषको पेटमा गोली प्रहार गरेको आरोप छ । चुओ वार्डमा भएको घातक गोलीकाण्डमा पनि कामेतानीको संलग्नता थियो कि थिएन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जापानमा ज्यान जाने गरी हुने गोलीकाण्ड अत्यन्तै दुर्लभ मानिन्छ । ह्योगो प्रिफेक्चरल प्रहरीले दिएको विवरणअनुसार सन् २०२४ र २०२५ मा ह्योगो प्रिफेक्चरमा बन्दुक प्रयोग भएको कुनै पनि घटना भएको थिएन ।

गत वर्ष जापानभर बन्दुक प्रहारको एउटा मात्र घटना भएको थियो । सन् २०२१ देखि २०२४ सम्म यस्ता ३१ घटना भएको तुलनामा यो संख्या निकै कम हो ।

सन् २०२१ देखि २०२५ सम्म जापानमा भएका १५ वटा गोलीकाण्डजन्य मृत्युका घटनामध्ये सात वटा आपराधिक गिरोहसँग सम्बन्धित रहेको प्रहरीको तथ्यांकले देखाएको छ । यसले जापानमा हुने सीमित गोलीकाण्डमध्ये ठूलो हिस्सा गिरोहसँग सम्बन्धित हुने गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.