महाधिवेशनमा गगनको स्वीकारोक्ति : ‘उही नेतृत्व दोहोरिरहँदा राजनीतिप्रति वितृष्णा बढ्यो’
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उही नेता देश र पार्टीको नेतृत्वमा दोहोरिरहँदा जनतामा राजनीतिप्रति वितृष्णा बढेको बताउनुभएको छ ।
थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति पटकपटक नेतृत्वमा दोहोरिरहने तथा मन्त्री बनेका व्यक्ति पनि बारम्बार सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताउनुभएको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार काठमाडौँको खुलामञ्चमा सम्बोधन गर्दै सभापति थापाले सो कुरा बताउँदै राजनीतिक नेतृत्व र दलहरूले विगतका अभ्यास तथा कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने पनि स्पष्ट पार्नुभएको हो ।
उहाँले राजनीतिक दल र नेतृत्वप्रति जनताको विश्वास कमजोर हुनुका कारणमध्ये एउटै व्यक्ति पटकपटक पद र नेतृत्वमा दोहोरिने प्रवृत्ति पनि रहेको उल्लेख गर्नुभयो।
जनताको बदलिँदो अपेक्षा र राजनीतिक दलको कार्यशैलीबीच दूरी बढ्दै गएको अवस्थामा कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक संस्कारमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो।
सभापति थापाले विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको भए पनि त्यसको परिणाम पार्टीको पक्षमा आउन नसकेको उल्लेख गर्दै त्यसबाट पाठ सिक्नुपर्ने बताउनुभयो।
कांग्रेसले विगतमा विभिन्न निर्वाचनमा हार–जीत व्यहोर्दै आएको भए पनि अहिलेको महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै नयाँ राजनीतिक यात्राको आधार बनाउने अवसरका रूपमा लिनुपर्ने उहाँले बताउनुभयो।
उहाँले लामो राजनीतिक सङ्घर्ष र विभिन्न राजनीतिक परिवर्तनपछि पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको बताउनुभयो।
रोजगारी सिर्जना, युवा पलायन रोक्ने, जनताको जीवनस्तर सुधार्ने तथा आर्थिक–सामाजिक रूपान्तरणलाई तीव्रता दिने विषयमा अब सबै राजनीतिक दलले गम्भीर समीक्षा गर्नुपर्ने उहाँको धारणा थियो।
“यो विषय हामी सबै मिलेर खोज्नुपर्छ। हामी महाधिवेशनमा यही कुरा ‘डेलिभरी’ दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ”, उहाँले भन्नुभयो।
सभापति थापाले कांग्रेसले अब लोकतन्त्रको कुरा मात्रै नगरी जनतालाई प्रत्यक्ष परिणाम दिने राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने बताउनुभयो। लोकतान्त्रिक व्यवस्था र जनताको अपेक्षाबीचको दूरी घटाउने काम कांग्रेसले गर्नुपर्ने उहाँको भनाइ थियो।
“डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ, पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ। यही सङ्कल्प गर्छौँ”, उहाँले भन्नुभयो।
‘कांग्रेस कमजोर हुँदा लोकतन्त्रप्रतिको विश्वासमा असर पर्छ’
सभापति थापाले नेपाली कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा समेत असर पर्न सक्ने बताउनुभयो। कांग्रेसले आफूलाई जनताको आवश्यकता, प्रश्न र अपेक्षासँग जोडेर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
“आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ। पुल ढल्यो भने विश्वास ढल्छ, त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्नेछ”, उहाँले भन्नुभयो।
उहाँले कांग्रेस आफ्नो राजनीतिक सिद्धान्त र मूल्यमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभयो। तत्कालको राजनीतिक लाभका लागि सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्तिबाट पार्टी टाढा रहनुपर्ने उहाँको धारणा थियो।
आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी–व्यवसायीको भूमिकालाई सम्मान गर्दै उनीहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो।
राजनीतिक परिवर्तनसँगै आर्थिक तथा सामाजिक रूपान्तरणलाई अघि बढाउन नसकिए लोकतन्त्रप्रतिको जनविश्वास थप कमजोर हुन सक्ने उहाँको भनाइ थियो।
सभापति थापाले निर्वाचन आउने–जाने भए पनि त्यसको महत्त्वलाई बेवास्ता गर्न नहुने बताउनुभयो। निर्वाचनको परिणाम महत्त्वपूर्ण भए पनि तत्कालको चुनावी लाभभन्दा दीर्घकालीन रूपमा देश र जनताको हितमा काम गर्ने राजनीतिक संस्कार आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
‘महाधिवेशन नेतृत्व चयनका लागि मात्रै होइन’
सभापति थापाले १५औँ महाधिवेशनलाई नेतृत्व परिवर्तन गर्ने कार्यक्रमका रूपमा मात्रै नलिई कांग्रेसको आगामी राजनीतिक दिशा, नीति, संगठन र जनतालाई परिणाम दिने क्षमतामाथि गम्भीर मन्थन गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो।
उहाँले कांग्रेसका केही साथीहरू पार्टीबाट बाहिरिएको उल्लेख गर्दै उनीहरू कांग्रेसबाट अलग भएका हुन् वा होइनन् भन्ने विषयमा पनि अब स्पष्ट धारणा बनाउनुपर्ने बताउनुभयो।
पार्टीभित्र रहेका सबैलाई समेट्ने तथा बाहिरिएका नेताहरूका सम्बन्धमा पनि पार्टीले आवश्यक दृष्टिकोण निर्माण गर्ने उहाँले बताउनुभयो।
सभापति थापाले बदलिएको कांग्रेसले देश बदल्ने आधार तयार गर्न सक्ने विश्वास व्यक्त गर्दै १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा, विचार र सङ्कल्पसहित बाहिरिनुपर्ने बताउनुभयो।
उहाँले मुलुकको पछिल्लो अवस्थाका कारण महाधिवेशनलाई सामान्य राजनीतिक उत्सवका रूपमा मनाउन सहज नभएको बताउनुभयो।
“रसुवाको भोटेकोशीमा गएको बाढीका कारण हजारौँ नागरिक हामीमाझ हुनुहुन्न। यो महाधिवेशन गर्न मन थिएन। तर संविधान र कानुनको परिधिका कारण गर्न बाध्य भयौँ”, उहाँले भन्नुभयो।
सभापति थापाले विपद्मा ज्यान गुमाएका तथा प्रभावित नागरिकप्रति संवेदनशील हुँदै महाधिवेशनबाट देश र जनताका समस्या समाधान गर्ने नयाँ राजनीतिक सङ्कल्प लिनुपर्ने बताउनुभयो।
कांग्रेसको आगामी यात्रा केवल संगठन र नेतृत्वको विषयमा सीमित नभई जनताको जीवनमा परिवर्तन ल्याउने कामसँग जोडिनुपर्ने उहाँको धारणा थियो।




प्रतिक्रिया राख्नुहोस्