विश्व समाचार

दिल्ली प्रदर्शनमा महिला पत्रकारमाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरी नै छानबिनमा

भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा तीन महिला पत्रकारले प्रहरी अधिकारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि दिल्ली प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

जंतरमन्तर क्षेत्रमा शनिबार भएको प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा आफूहरूमाथि दुर्व्यवहार भएको महिला पत्रकारहरूको आरोप छ।

उनीहरूले प्रहरी अधिकारीले आफूहरूलाई धकेलेको, अनुचित रूपमा छोएको तथा अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएका हुन्। दिल्ली प्रहरीले ती उजुरी विस्तृत अनुसन्धानका लागि अपराध शाखामा पठाएको जनाएको छ।

प्रहरीले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्ने प्रतिबद्धता जनाएको छ। घटनासँग सम्बन्धित सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोको समेत अध्ययन गरिने प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शी तथा अन्य व्यक्तिसँग घटनासम्बन्धी भिडियो वा प्रमाण भए उपलब्ध गराउनसमेत प्रहरीले आग्रह गरेको छ।

तीमध्ये एक महिला पत्रकारले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा एक प्रहरी अधिकारीले आफूलाई धकेलेर ‘अनुचित रूपमा छोएको’ आरोप लगाएकी छन्।

अर्की पत्रकारले पनि प्रहरी कारबाहीका क्रममा आफूहरूमाथि शारीरिक दुर्व्यवहार भएको दाबी गरेकी छन्। घटनाबारे आरोपको सत्यता भने अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।

प्रहरी कारबाहीको विरोध

जंतरमन्तरमा शनिबार भएको प्रदर्शनमा ठूलो संख्यामा प्रदर्शनकारी सहभागी भएका थिए। प्रहरीले निर्धारित नियम उल्लंघन भएको भन्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि तनाव उत्पन्न भएको थियो। त्यसै क्रममा महिला पत्रकारहरूले प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका हुन्।

घटनापछि राजनीतिक दल, नागरिक अधिकारकर्मी तथा पत्रकारहरूले प्रहरीको व्यवहारमाथि प्रश्न उठाएका छन्। महिला अधिकारकर्मीहरूले सार्वजनिक प्रदर्शनका क्रममा महिला पत्रकार तथा प्रदर्शनकारीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन्।

वामपन्थी विद्यार्थी संगठनकी कार्यकर्ता नेहा बोराले प्रदर्शनकारीहरूलाई नयाँदिल्लीको इन्डिया गेटतर्फ मार्च गर्न आह्वान गर्दै सार्वजनिक स्थानमा समेत महिलाहरू सुरक्षित नरहेको भन्दै प्रहरी कारबाहीको आलोचना गरेकी छन्।

आन्दोलन थप चर्किने संकेत

निर्वाचन आयोग प्रमुखको राजीनामाको मागसँगै विपक्षी दलहरूले आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेका छन्। उनीहरूले मंगलबार नयाँदिल्लीस्थित निर्वाचन आयोगको कार्यालयतर्फ मार्च गर्ने र त्यसपछि देशभर ‘लोकतन्त्र बचाऔँ’ अभियान सञ्चालन गर्ने बताएका छन्।

यसैबीच, युवामाझ लोकप्रिय बन्दै गएको ककक्रोच जनता पार्टी (सीजेपी)ले पनि आन्दोलनलाई थप व्यापक बनाउने घोषणा गरेको छ। सीजेपीका प्रमुख अभिजीत दिपकेले प्रहरी दमन र प्रदर्शनकारीको गिरफ्तारीको विरोध गर्दै आरोपित प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

सीजेपीले अक्टोबर १० मा नयाँदिल्लीको जंतरमन्तरमा ठूलो प्रदर्शन गर्ने घोषणा गरिसकेको छ। दिपकेले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिए आन्दोलनलाई थप तीव्र बनाउने चेतावनी दिएका छन्।

सीजेपी केही महिनाअघि परीक्षा प्रश्नपत्र चुहावटसम्बन्धी विवादलाई लिएर भएको युवा आन्दोलनबाट चर्चामा आएको संगठन हो। त्यस आन्दोलनले तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत गराएको थियो। अहिले मतदाता नामावली विवादलाई लिएर सीजेपी पुनः सडक आन्दोलनमा सक्रिय भएको हो।

मतदाता नामावली विवादपछि प्रदर्शन

भारतको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुक्रबारदेखि नयाँदिल्लीसहित विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ। प्रदर्शनकारी तथा विपक्षी दलहरूले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआइआर) प्रक्रियामा अनियमितता भएको र त्यसबाट लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको आरोप लगाएका छन्।

विपक्षी दलहरूले मतदाता नामावली पुनरावलोकनको प्रक्रिया सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा० र प्रधानमन्त्री नरेन्द्र मोदीको पक्षमा हुने गरी सञ्चालन गरिएको आरोप लगाउँदै आएका छन्।

निर्वाचन आयोगले भने यस्ता आरोप अस्वीकार गर्दै मतदाता नामावली शुद्धीकरण तथा पुनरावलोकन कानुनी प्रक्रियाअनुसार नै भइरहेको बताएको छ। आयोगले गलत वा अवैध विवरण हटाउनु आवश्यक रहेको दाबी गरेको छ।

यस विवादले निर्वाचन प्रक्रियाको निष्पक्षता, मताधिकार र लोकतान्त्रिक संस्थाको विश्वसनीयताबारे भारतमा नयाँ बहससमेत सिर्जना गरेको छ। निर्वाचन आयोगले यसअघि मतदाता नामावलीमा देखिएका परिवर्तनबारे आफ्नो सफ्टवेयरको समीक्षा गर्न प्रक्रिया अघि बढाएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.