बूढीगण्डकीको बाढीले सल्लेरी बजार र जलविद्युत् आयोजनाको क्याम्प बगायो
बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरी बजार क्षेत्र र निर्माणाधीन जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ।
बाढीले नदी किनारका घर, झोलुङ्गे पुल तथा पक्की पुलमा समेत क्षति पुर्याएको छ। विभिन्न बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार स्यारखोला क्षेत्रबाट आएको बाढीले जगत र सल्लेरी बजारका संरचना, जलविद्युत् आयोजनाको क्याम्प तथा नदी आसपासका धेरै घर बगाएको छ।
आइतबार बिहान करिब साढे ४ बजे ठूलो आवाजसहित बाढी आएपछि लोक्पालगायत नदी आसपासका बासिन्दा ज्यान जोगाउन भागदौड गर्नुपरेको स्थानीय सेराप गुरुङले बताउनुभयो। नदी थुनिने र खुल्ने क्रम दोहोरिएकाले तटीय बस्तीमा जोखिम कायम रहेको छ।
घर, पुल र जलविद्युत् आयोजनामा क्षति
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ को न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को घरमा बाढी पसेको छ।
धार्चे गाउँपालिका–५ स्थित माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीका पाँचदेखि सातवटा घर र त्यति नै संख्याका टहरामा बाढी पसेको प्रारम्भिक विवरण छ। धार्चे गाउँपालिका–३ को सल्लेरीमा २० देखि २२ घर जोखिममा रहेका छन्।
त्यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ। चुमनुब्री गाउँपालिका–३ को सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस र आसपासका सातदेखि आठवटा घरसमेत बगाएको विवरण प्राप्त भएको छ।
आरुघाट गाउँपालिका–९ स्थित नयाँपुलमा गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। पुलमा क्षति पुगेपछि उक्त सडकखण्डको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारियो
सम्भावित जोखिमलाई ध्यानमा राख्दै जगत, सल्लेरी, सिर्दिबास, खोर्लाबेँसी, माछीखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय गोरखाले नदी किनारका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा जान आग्रह गरेको छ। नदीको बहावमा फेरबदल भइरहेकाले थप क्षति हुन सक्ने जोखिमप्रति सचेत रहन प्रशासनले अनुरोध गरेको छ।
क्षतिको विवरण संकलन हुँदै
गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताउनुभयो। उहाँका अनुसार हेलिकोप्टरबाट प्रभावित क्षेत्रको निरीक्षण गरी क्षतिको अवस्था यकिन गर्ने तथा विपद्मा परेकाहरूको उद्धार र राहतको व्यवस्था मिलाउने तयारी गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि बाढीको कारण, क्षतिको वास्तविक अवस्था र प्रभावित क्षेत्रको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक कदमबारे छलफल भइरहेको छ।
बाढीबाट भएको मानवीय क्षति भए–नभएको तथा घर, पुल र जलविद्युत् आयोजनामा पुगेको कुल क्षतिको यकिन विवरण भने प्राप्त भइसकेको छैन।



प्रतिक्रिया राख्नुहोस्