सरकारले केही गरेन, बाढीपीडितको उद्धारमा जुट्न ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सरकार विफल भएको भन्दै सो काममा तत्काल जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
पार्टीको मिसन जागरण अभियानअन्तर्गत आइतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपद् व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउँदै सो निर्देशन दिनुभएको हो ।
अध्यक्ष ओलीले राष्ट्रिय विपत्तिको समयमा समेत सरकारले साँघुरो मन देखाएको आरोप लगाउँदै हेलिकोप्टरको दुरुपयोग भएको दावी समेत गर्नुभो ।
उहाँले भन्नुभयो, ‘सरकारी हेलिकोप्टर कुनै संस्थाको निजी सम्पत्तिजस्तो, कहिल्यै हेलिकोप्टर चढ्न नपाएको छ भने चढाउने अवसर मिलेजस्तो, त्यस्तो खालको स्थिति रह्यो।’
उहाँले बाढीले घर बगाएको, केही व्यक्ति बेपत्ता भएको र ठूलो क्षति पुगेको उल्लेख गर्दै विपद्को घडीमा सरकारको मुख मात्र ताकेर नबस्न आग्रह गर्नुभयो।
यसअघि भोटेकोशी र त्रिशूलीमा आएको बाढीका बेला पनि उद्धार तथा राहतमा कमजोरी भएको उल्लेख गर्दै उहाँले यसपटक त्यस्ता समस्या नदोहोर्याउन सरकारलाई आग्रह गर्नुभयो।
अध्यक्ष ओलीले बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन तथा आवश्यकताअनुसार पुनर्निर्माण र पुनःस्थापनामा सहयोग गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।




प्रतिक्रिया राख्नुहोस्