बूढीगण्डकी बाढी : सडक-पुल, सय बढी घरहरू बगे, तीन हाड्रोमा क्षति
बूढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका १०० बढी घरहरू बगेका छन् । बाढीले आधादर्जन पुल बगाएको छ भने सडक तथा तीन जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । बिहान करिब ४ः०० बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार चुमनब्री–६ तुम्जेमा पहिरो जाँदा उङ्गिलुङ खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो । भू–उपग्रहले लिएको तस्बिरका अनुसार शनिबार साँझ नै पहिरो गएको महाशाखाको भनाइ छ ।
उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । चुमनुब्री गाउँपालिकाको लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी र जगत क्षेत्रमा क्षति पुगेको हो ।
यस्तै, धार्चे गाउँपालिकाको दोभान, माछीखोला, यारुबगर र आरुघाट गाउँपालिकाको सोती र आरुघाट बजारमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
दश जना सम्पर्कविहीन
बाढीमा परेर उङ्गिलुङ भेडीगोठमा बस्ने चुमनुब्री–६ चुन्चेतका पाँच जना सम्पर्कविहीन बनेका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभएको छ । सोही क्षेत्रको धाउलेमा बस्ने तीन घरका पाँच जना पनि सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाको भनाइ छ ।
छ वटा पुल बगायो
बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा हालसम्म दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे पुल बगाएको उल्लेख छ ।
गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बाढीले बगाएको हो । यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।
बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बगाएको छ । यसैगरी, माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुलर चुमनुब्रीकै घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो ।
दसैँको मुखमा आएको बाढीले गाउँबस्ती जाने पुल नै बगाएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ बताउनुहुन्छ । “माछीखोलाको पुल बगाउँदा केरौँजा, लामावेशी, रुन्चेतलगायत गाउँबस्ती जाने बाटो बन्द भयो”, उहाँले भन्नुभयो, “दसैँको मुखमा हामीलाई ठूलो बिपत्ती आइपर्र्यो ।”
चुमनुब्री–३ फिलिमकी कुमारी गुरुङले पनि जताततै पुल बगाउँदा दसैँमा घर जाने बाटो बन्द भएको बताउनुभयो । “हामी त अब यहीँ थुनियौँ, तलबाट घर आउनेहरूको बाटो पनि बन्द भयो”, गुरुङले भन्नुभयो, “यहाँ आउने हेलीकप्टरबाहेक अन्य उपाय छैन ।” बाढीले चुमनुब्री–६ सिर्दिभीरको क्यान्टिलिभर पुलसमेत बगाएको पालिकाको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटको भनाइ छ ।
सर्दिभीरको क्यान्टिलिभर पुल उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ र वडा नं ७ छेकम्पारका गाउँबस्ती पुग्ने एकमात्र साहारा हो ।
विद्यालय पनि बगे
बूढीगण्डकीको बाढीले चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित विकास आधारभूत विद्यालयको भवनसमेत बगाएको प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाको भनाइ छ ।
तीन हाइड्रो पावरमा क्षति
बाढीका कारण उत्तरी गोरखाको तीन वटा हाइड्रोपावर आयोजनामासमेत क्षति पुगेको छ । चुमनुब्री–३ सल्लेरीस्थित सहज ऊर्जा प्रालिको पावर हाउस र लेबर क्यापमा बाढीले बगाएको हो । यस्तै, धार्चे गाउँपालिका–१ यारु र दोभानमा रहेको दुई वटा हाइड्रोपावर आयोजनामा क्षति पुगेको धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।
बाढीले सल्लेरीको हाइड्रोपावर बगाउँदा न्याक, फिलिम, चिसापानी, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, भालुवाङ, सिर्दिबास, जगत, उहियालगायत गाउँबस्ती विद्युत्बिहीन बनेका गुरुङको भनाइ छ ।
सयबढी घरगोठ बगे
बाढीले चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोला क्षेत्रका चार गोठ बगाएका छन् । यस्तै, बूढीगण्डकी किनारमा पर्ने सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ३१ घरधुरी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ । शर्माका अनुसार धार्चे गाउँपालिकाको माछीखोला, यारुबगर र दोभानका करिब ५० घरधुरी र आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरधुरीमा क्षति पुगेको छ ।
हेलीमार्फत उद्धार कार्य जारी
बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलीमार्फत उद्धार कार्य जारी छ । चुमनुब्री गाउँपालिका–३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर न्याक गाउँ लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।
यस्तै, धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको पनि हेलीमार्फत उद्धार भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यारुबगरमा फसेका पर्यटक, स्थानीय र हाइड्रोपावरमा कार्यरत्त १८ जनालाई हेलीमार्फत हुल्चुक गाउँमा लगिएको हो ।
हेलीले मनासलु क्षेत्रमा अलपत्र परेका ९० जना पर्यटक, गाइड र भरियाहरूको पनि उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा सेनाको चार वटा हेलिकप्टर परिचालन भएको थियो ।




प्रतिक्रिया राख्नुहोस्