संस्कृति

पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि आइतबारदेखि भक्तजनलाई पूजा गर्न खुला भएको छ ।

घटस्थापनाका दिन पारेर मन्दिर खुला गरिएको मन्दिरका पुजारीसमेत रहनुभएका तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताउनुभयो ।

“क्षमा पूजा गरेर विधिवत् रूपमा घटस्थापनाको दिनमा देवीको शक्ति पुरानो शिलामा सारेका छौँ । अब भक्तजनले उल्लासपूर्वक पूरानै शिलामा दर्शन तथा पूजाआजा गर्न सक्नुहुन्छ”, पहारीले भन्नुभयो । उहाँका अनुसार विसं २०८० कात्तिकदेखि मन्दिर पुनर्निर्माण सुरु भएपछि मन्दिरमा नियमित पूजाआजा बन्द भएको थियो ।

पुनर्निर्माणका क्रममा मन्दिरमा नियमित पूजाआजा बन्द रहेकाले नजिकैको हवनकुण्ड रहेको स्थानमा चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरी पूजाआजा हुँदै आएको थियो ।

मन्दिर खुला भएसँगै पूजाका लागि भक्तजनले पहिलो दिनमा भीड लागेको थियो । नवदुर्गा सुरु भएकालेसमेत अबका दिनमा भक्तजनको उल्लासपूर्वक सहभागिता हुने विश्वास गरिएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पका कारण मन्दिर करिब तीन इन्च दक्षिणतर्फ ढल्किनुका साथै केही भाग दबिएपछि यसको संरचनामा जोखिम देखिएको थियो ।

पुरातत्व विभागको निर्देशन तथा समन्वयमा तीन वर्ष समय लगाएर मन्दिर पुनर्निर्माण गरिएको हो । मन्दिर पुनर्निर्माणका लागि रु एक करोड ६५ लाख खर्च भएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरलाई यसको मौलिक स्वरूप र परम्परागत वास्तुकला कायम हुनेगरी पुनर्निर्माण गरिएको हो । प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरका लागि भक्तपुर र ललितपुरबाट दक्ष कालीगढ ल्याइएको थियो । प्यागोडा शैलीका मन्दिरमा तहगत छाना, काठका कलात्मक संरचना, परम्परागत झ्लालढोका तथा धार्मिक प्रतीकात्मक आकृतिको प्रयोग भएको छ ।

फेवातालको बीचमा मन्दिर रहेकाले यहाँको धार्मिक आस्था र प्राकृतिक सौन्दर्य एकसाथ अनुभव गर्न सकिन्छ । डुङ्गाबाट मन्दिरतर्फ जाँदा तालको पानी, वरिपरिको हरियाली र हिमाली दृश्यले तालबाराहीलाई धार्मिक गन्तव्यसँगै महत्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा स्थापित गरेको छ ।

तालबाराही मन्दिरको इतिहास निकै पुरानो मानिन्छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले फेवातालको बीचमा रहेको ढिस्कोमा खरको झुप्रो बनाएर मन्दिर स्थापना गरेको जनश्रुति छ । मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहेको स्थानीय धार्मिक मान्यता छ ।

प्राचीन समयमा माटोको ढिस्कोमा रहेको शिलालाई देवीका रूपमा पूजा गर्न थालिएको र पछि त्यही स्थानमा मन्दिर स्थापना गरिएको बताइन्छ । सामान्य झुप्रोको स्वरूपमा रहेको मन्दिरलाई तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा अहिलेको स्वरूपमा निर्माण गराउनुभएको थियो । त्यसपछि तालबाराही मन्दिर पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित भएको हो ।

फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले भोटेकोशी बाढीपछि पर्यटक आगमन न्यून हुँदा डुङ्गा चढ्नेसमेत घटेकामा अबदेखि मन्दिर खुला भएपछि भक्तजन तथा यात्रुको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.