जन सरोकार

बेत्रावतीमा जोडियो ‘एक्रो ब्रिज’, स्याफ्रुबेँसीसम्मै खुल्यो सडक (भिडियोसहित)

गत भदौ १० गतेको भोटेकोशी/त्रिशूली बाढीले बेत्रावतीस्थित फलाकु खोलाको पक्की पुल बगाएपछि राष्ट्रिय सडक सञ्जालबाट बाहिरिएको रसुवा जिल्ला नेपाली सेनाले ‘एक्रो ब्रिज’ जडान गरेसँगै पुनःसडक सञ्जालमा जोडिएको छ ।

बेत्रावतीमा पुल सञ्चालनमा आएसँगै रसुवा–नुवाकोट आवतजावत गर्ने सवारी साधनले अप्ठ्यारा र लामा वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । सेनाले निर्माण गरेको सो पुल आइतबार एक कार्यक्रमबीच गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिएको हो ।

रसुवाको उत्तरगया नगरपालिका–५ र नुवाकोटको विदुर नगरपालिका–१० जोड्ने फलाकु खोलामा निर्मित नयाँ र पुराना पुल बाढीले बगाएपछि रसुवासँगको सडक सम्पर्क बिच्छेद भएको थियो ।

बाढीले अधिकांश सडक बगाएपछि सडक विभागसँगको समन्वयमा सेनाले करिब ३०० मिटरको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरी बेत्रावतीसम्म सडक खुलाएको थियो ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले यही असोज २० गतेदेखि सो क्षेत्रमा एक्रो ब्रिज जडान सुरु गरी पाँचौँ दिनमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

करिब २४० फिट लम्बाइ र १८ फिट चौडाइको सो पुलको भारवहन क्षमता ६० टन छ । पुलको सुरक्षाका लागि भारवहन क्षमता ४० टन तोकिएको छ । सेनाले हालसम्म देशका विभिन्न भागमा ५१ वटा ‘एक्रो ब्रिज’ र ‘बेली ब्रिज’ जडान गरिसकेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । ती पुलको लम्बाइ दुई हजार १७७ मिटर छ ।

नेपाली सेनाका युद्धकार्य विभागका प्रमुख एवं उपरथी अनुपजङ्ग थापाले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख कृष्णनाथ ओझालाई उक्त पुल हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा रसुवाको उत्तरगया गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका अध्यक्ष तथा प्रमुख एवं रसुवा र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

“एक्रो ब्रिज सञ्चालनमा आएसँगै नुवाकोट तथा रसुवा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न र बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने विश्वास लिइएको छ”, सैनिक प्रवक्ता बस्नेतले भन्नुभयो ।

उक्त पुल निर्माणको नेतृत्व गर्नुभएका प्रमुख सेनानी करुणबहादुर थापाले ८० जना फौजको टोलीले चार दिनमा पुल जडान गर्न सफल भएको जानकारी दिनुभयो । “यही असोज २० गतेदेखि सुरु गरेर २४ गते साँझसम्म निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेका हौँ”, उहाँले भन्नुभयो ।

पुल निर्माणसँगै धादिङको गल्छी, नुवाकोटको देवीघाट, त्रिशूली र बेत्रावती तथा रसुवाको धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म सडक सञ्चालनमा आएको छ । स्याप्रुबेँसीबाट रसुवागढी नाकासम्म करिब १७ किलोमिटर सडक पुनःनिर्माण गर्नुपर्ने चुनौति छ ।

पुल सञ्चालनमा आएसँगै रसुवाका विभिन्न क्षेत्रमा रोकिएका ट्रक तथा कन्टेनर धमाधम नुवाकोटतर्फ फर्केका छन् । यसअघि सेनाले गत भदौमा नुवाकोटको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलामा एक्रो ब्रिज निर्माण गरेको थियो ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले बेत्रावतीमा पुल निर्माण भएसँगै दैनिक उपभोग्य वस्तुको आपूर्ति र पुनर्निर्माणको अभियानमा राहत मिल्ने बताउनुभयो ।

“अहिले पनि हामी महाविपत्तिको सामना गरिरहेका छौँ, पीडित तथा प्रभावित परिवार स्तब्ध हुनुहुन्छ, उहाँहरूलाई फेरि पुनर्जीवनमा फर्काउनसक्ने स्थिति त बनेकै छैन”, उहाँले भन्नुभयो, “तर, पनि सुविधाको हिसाबले यो पुल बन्दा जनजीवनलाई सामान्यतर्फ फर्काउन सजिलो भएको छ ।”

पुल नहुँदा रसुवाका विभिन्न भागमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन थालिसकेको थियो । वैकल्पिक मार्गबाट आपूर्ति सहज बनिरहेको थिएन ।

“हामीसँग वैकल्पिक मार्ग त थियो तर, ती मार्गमा पहुँच स्थानीय जनताको सहज पुहँच थिएन, बजारसँग जोड्न सकिरहेको अवस्था पनि थिएन”, अध्यक्ष अर्यालले भन्नुभयो, “नेपाली सेनाको तदारुकतासाथ यो पुल बनेको छ, यसले रसुवालाई राष्ट्रिय राजमार्गसँग जोडेको छ । अब जनजीवनलाई सामान्यीकरण गर्न सजिलो हुनेछ ।”

नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ५ का स्थानीय पार्वती भट्ट बाढीले बेत्रावतीका पुल बगाउँदा उकुसमुकुसको अवस्था रहेको सम्झनुहुन्छ । “बिरामी पर्दा अस्पतालसम्म जानै पनि अप्ठ्यारो थियो, बाढीपछि उम्केर अहिले बेत्रावती आइपुगेको हुँ, खोलो तरेर यताउता देखेको आजै हो”, उहाँले भन्नुभयो, “पुल नहुँदा हामी त अनकन्टारमा थियौँ, अब पुल बन्यो, सडक खुल्दैछ, बत्ती, इन्टरनेट आएको छ, बिस्तारै ‘उज्यालो’ फर्कदैछ ।”

नुवाकोटको किस्पाङ गाउँपालिकाका स्थानीय भट्ट त्रिशूलीका सबै पुल बगाएपछि पहिरेबेँसीको झोलुङ्गे पुल तरेर तीन/चार घण्टा जङ्गलको बाटो काटेर बेत्रावती आइपुग्नुभएको थियो ।

पीडाबीच टुसायो आशा, फेरि उठ्नेछ बेत्रावती

बाढीले दिएको पीडा रसुवावासीले भुल्न सकेका छैनन् । तर पनि आफ्नो गाउँठाउँ जोड्ने स्थानमा पुल बन्दा पीडाकाबीच स्थानीयमा आशा टुसाउन थालेको छ । नेपाल–चीन जोड्ने अन्तर्राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा रसुवाका स्थानीयको अनुहारमा चिन्ता छाएको थियो ।

तर, छोटो समयमै पुल निर्माण भई सञ्चालनमा आएसँगै स्थानीयमा अब फेरि बेत्रावती उठ्छ भन्ने आशा पलाएको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष अर्याल महाविपद्बाट सामना गरेको त्यो अस्तव्यस्त अवस्थालाई विस्तारै सामान्य अवस्थामा फर्काउन बेत्रावती पुलले ‘सुत्राधार’ को काम गर्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

बेत्रावतीका स्थानीय खडकबहादुर थापा आफू बच्चा अवस्थादेखि नै बेत्रावतीसँगै हुर्केको स्मरण गर्दै अब फेरि बेत्राबती पुरानै अवस्थामा फर्कने सम्भावना देख्नुहुन्छ । “बाढीले मरेको मन विस्तारै बौरिन थालेको छ, पहिलाका संरचनाहरू अब केही समयपछि फर्किन्छ भन्ने आशा छ”, उहाँले भन्नुभयो ।(रासस)

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.