रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा आइसिसी विश्वकप क्रिकेट लिग-२ को एकदिवसीय शृङ्खलाअन्तर्गतमा आफ्नो दोस्रो खेलमा नेपालले ओमान सामू जितको लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो ।
नेपालको लागि रोहित पौडेलले ६७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ६१ रनको अर्धशतकीय पारी खेले भने अर्जुन कुमालले ५९ बलमा ४ चौका प्रहार गर्दै ४० रन बनाए । त्यस्तै करण केसीले १६ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४० रन बनाए भने इशान पाण्डेले ५५ बलमा ४ चौका प्रहार गर्दै ३७ र दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।
ओमानको लागि शाह फैसल, शकील अहमद, करण सोनवले समान दुई-दुई विकेट लिए भने हसनैन शाहको भागमा एक विकेट रह्यो ।
जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका छन् । यही असोज २६ गते भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्दै जित हासिल गरेको थियो ।
त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले पराजित गरेको थियो । ओमानको जितपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ भने नेपालको ध्यान अब एकदिवसीय मान्यतालाई जोगाउनेतर्फ रहेको छ ।
आइसिसी विश्व लिग २ मा ३३ खेल खेलेको नेपाल २६ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । यता क्यानडा ३४ खेलबाट २५ अङ्कसहित अङ्क तालिकाको सातौँमा झरेको छ । २९ खेल खेलेको ओमानले ३३ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।




प्रतिक्रिया राख्नुहोस्