बिचार

बाढीले श्रीमान् मात्रै बगाएन, अपाङ्ग श्रीमती र दुई सन्तानको सहारा पनि खोस्यो

प्रकृतिको एउटा निठुरी झोक्काले हाँस्दाहाँस्दैको कसैको संसार कसरी उजाड बनाइदिन्छ भन्ने कारुणिक दृश्य यतिबेला रसुवामा देखिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेकी ३० वर्षीया मिनजिन तामाङको जीवनमा यस्तै एउटा कहिल्यै निको नहुने गहिरो घाउ लागेको छ ।

रसुवाकै कालिका गाउँपालिका–१ पालेप माइतीघर भई ठाडेका ३० वर्षीय लामा कुमार घलेसँग छ वर्षअघि वैवाहिक बन्धनमा बाँधिनुभएकी तामाङको संसार अहिले एकाएक अन्धकार बनेको छ ।

भोटेकोशीमा भेल बनेर आएको बाढीले घरको एउटै मात्र कमाउने खम्बा श्रीमानलाई बगाएर बेपत्ता बनाएपछि अहिले उहाँ र दुई नाबालक सन्तानको बिचल्ली भएको छ ।

विगतका दिन पनि अभावै अभावमा बिते पनि यो दम्पतीको काखमा एक छोरा र एक छोरीको आगमनले खुसीयाली भरेको थियो । लामा परिवारको गुजारा चलाउन केरुङतर्फ श्रम गर्थे भने मिनजिन घरव्यवहार र सन्तानको हेरचाहमा रमाउनुहुन्थ्यो ।

तर, नियतिलाई उहाँहरूको यो सादा खुसी मञ्जुर भएन । मिनजिन मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । झन् एक वर्षअघि घाँस काट्न जाँदा अचानक रिङ्गटा लागेर भिरबाट लड्दा उहाँको एउटा हात र एउटा खुट्टा चल्न छोड्यो । शरीर आधा अचेत र अशक्त भयो ।

त्यो सङ्कटको घडीमा श्रीमान् लामा कुमारले उहाँलाई कहिल्यै कमजोर हुन दिनुभएन । “तिमी चिन्ता नगर, म कमाउँछु, तिम्रो उपचार गराउँछु”, भन्दै अहोरात्र खटिनुभयो ।

मिनजिन आँसु पुछ्दै विगत सम्झिन्छिन्, “उहाँ सधैँ भन्नुहुन्थ्यो– श्रीमती भनेको सुखमा मात्र होइन, दुःख पर्दा झन् बढी साथ दिनुपर्छ ।” तर, तिनै रैथाने माया र आडभरोसा दिने श्रीमान्लाई कालो बनेर आएको बाढीले सदाका लागि खोसेर लग्यो ।

भदौको महिना थियो । अविरल वर्षा भइरहेको थियो । भदौ ६ गते लामा कुमारकी ७० वर्षीया ठूलीआमा कामछो घलेनीले भतिजलाई सम्झाउँदै भनेकी थिइन्, “बाबु, अहिले मौसम खराब छ, केरुङ नजाऊ, बरु गाउँतिरै बस ।” तर, अशक्त अवस्थामा रहेकी श्रीमतीको उपचार र सन्तानको गाँस टार्ने हुटहुटी बोकेका लामा कुमारले त्यो चेतावनीलाई टार्न सकेनन् ।

भदौ १० गते बिहानै झिसमिसे ५ः०० बजे काममा निस्कनुभएका लामा बाटो हिँड्दाहिँड्दै बाढीको चपेटामा पर्नुभयो । बाटोबाटै बाढीले बगाएर उहाँ बेपत्ता भएको खबर जब घर पुग्यो, मिनजिनको आकाश नै खस्यो ।

आज धेरै दिन बितिसक्दा पनि उहाँको आँखा बाटो हेर्नेतिरै केन्द्रित हुन्छन् । त्यसले कतै श्रीमान् जीवितै फर्किआउँछन् कि भन्ने उहाँमा एउटा मधुरो आशा अझै जीवितै देखाउँछ ।

घरमा सासूआमा पहिले नै बितिसक्नुभएको, बुढेसकालको जीवन बिताइरहनुभएका ससुरा, आफू स्वयं हलचल गर्न नसक्ने अपाङ्ग र साना–साना एक छोरा र एक छोरीसहितको यस्तो विकराल अवस्था छ । यो परिवारको हेरचाह अहिले ७० वर्ष नाघेकी ठूलीआमा कामछो घलेनीले गरिरहनुभएको छ ।

तर, आफैँलाई हेर्नुपरेको र वृद्धले कतिन्जेल यो भार थाम्न सक्छिन् र ? “बूढी भइसकेँ, म आफैँ त आज छु कि भोलि, यिनीहरूलाई कहिलेसम्म पाल्न सकूँला र ?” भन्दै ठूलीआमा भावुक बनिन् ।

आफ्नो आधा शरीर गुमाएर ओछ्यान पर्नुभएकी मिनजिन एउटै पुकार छ, “सरकारले हामीजस्ता असहाय, अपाङ्ग र टुहुरा बालबालिकालाई हेरिदिए हुन्थ्यो ।”

स्थानीय ठाडेस्थित सरस्वती आधारभूत विघालयका प्रधानाध्यापक लानाम घले भन्नुहुन्छ, “यो परिवार अत्यन्तै विपन्न र निम्न वर्गको हो । हामी गाउँले र विद्यालयको तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ, तर यो दीर्घकालीन समाधान होइन । राज्य र मनकारी निकायले यो अपाङ्ग आमा र टुहुरा बालबालिकाको संरक्षणका लागि ठोस कदम चालिदिनु आवश्यक छ ।”

बाढीले केवल एउटा मान्छेमात्र बगाएन, एउटा सिङ्गो परिवारको भविष्य र सहारा पनि बगाएको छ । प्रकृतिले दिएको उक्त चोटमा मानवीय मल्हमको पर्खाइमा छ ठाडेको यो विपन्न परिवार ।

भोटेकोशीको बाढीले लामा कुमार घलेलाई बेपत्ता बनाएसँगै मिनजिन तामाङको परिवारले कमाउने हात मात्र गुमाएको छैन, अपाङ्गतासँग जुधिरहेकी आमा र सहाराको खोजीमा रहेका दुई बालबालिकाको भविष्यसमेत अन्योलमा परेको छ। वृद्ध ठूलीआमाको सीमित सामर्थ्य र गाउँलेको अस्थायी सहयोगले मात्रै यो परिवारको जीवन धान्न सम्भव छैन।

त्यसैले श्रीमानको पर्खाइमा रहेकी मिनजिनको पीडा र बालबालिकाको असुरक्षित भविष्यलाई बेवास्ता नगरी राज्यले उपचार, पालनपोषण, शिक्षा र दीर्घकालीन संरक्षणको व्यवस्था गर्न जरुरी छ। प्राकृतिक विपत्तिले खोसेको सहारा फर्काउन नसकिए पनि मानवीय संवेदना र राज्यको जिम्मेवारीले यो परिवारको भविष्य उजाडिनबाट जोगाउन सक्छ। (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.