जापान

पश्चिमी प्रशान्तमा चीनको युद्धपोत, जापानले बढायो निगरानी

टोकियो । चीनले पश्चिमी प्रशान्त महासागरमा संयुक्त सैन्य अभ्यासका लागि आफ्नो विमानवाहक युद्धपोत ‘लियाओनिङ’ सहितको नौसैनिक समूह परिचालन गरेको छ। चीनको बढ्दो सैन्य गतिविधिलाई जापानले नजिकबाट निगरानी गरिरहेको छ।

चिनियाँ रक्षा मन्त्रालयले संक्षिप्त विज्ञप्ति जारी गर्दै उक्त अभ्यास वार्षिक नियमित सैन्य प्रशिक्षण योजनाअनुसार सञ्चालन गरिएको जनाएको छ। अभ्यासको उद्देश्य नौसैनिक समूहको वास्तविक युद्धपरिस्थितिमा प्रशिक्षण क्षमताको परीक्षण र सुधार गर्नुका साथै विभिन्न सैन्य अभियान सञ्चालन गर्ने क्षमतालाई निरन्तर सुदृढ बनाउनु रहेको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयले अभ्यास अन्तर्राष्ट्रिय कानुन र प्रचलित अभ्यासअनुरूप रहेको तथा कुनै विशेष देश वा लक्षित समूहविरुद्ध केन्द्रित नभएको दाबी गरेको छ। तर, अभ्यासको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

चीनले पछिल्ला वर्षहरूमा पश्चिमी प्रशान्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति विस्तार गर्दै आएको छ। यसले जापानमा सुरक्षा चिन्ता बढाएको छ। जापानी रक्षा अधिकारीहरूले उक्त क्षेत्रलाई जापानको सुरक्षाका दृष्टिले संवेदनशील तथा जोखिमयुक्त क्षेत्रका रूपमा व्याख्या गर्दै आएका छन्।

जापानको रक्षा मन्त्रालयका अनुसार समुद्री आत्मरक्षा बल (एमएसडीएफ) ले मंगलबार नागासाकी प्रिफेक्चरअन्तर्गत पर्ने दान्जो टापुबाट करिब ३९० किलोमिटर पश्चिममा लियाओनिङसहित चारवटा चिनियाँ जलयान सञ्चालनमा रहेको पत्ता लगाएको थियो।

ती जलयान बुधबार ओकिनावाको मुख्य टापु र मियाको टापुबीचबाट दक्षिणपूर्वतर्फ अघि बढ्दै पश्चिमी प्रशान्त महासागरमा प्रवेश गरेका थिए। त्यसक्रममा विमानवाहक युद्धपोतमा रहेका लडाकु विमानले ओकिनावाको इशिगाकी टापुबाट करिब २५० किलोमिटर दक्षिणमा उडान भर्ने र अवतरण गर्ने अभ्यास गरेका थिए।

जापानी रक्षा मन्त्रालयले चिनियाँ नौसैनिक समूह आसपास निगरानी तथा सूचना सङ्कलनका गतिविधि सञ्चालन गरिएको जनाएको छ। साथै, चिनियाँ विमानहरूको उडान र अवतरण अभ्यासपछि जापानको हवाई आत्मरक्षा बलले पनि लडाकु विमान परिचालन गरेको थियो।

पश्चिमी प्रशान्त क्षेत्रमा चीनले सैन्य अभ्यासको गति बढाएसँगै चिनियाँ सेना र जापानको आत्मरक्षा बलबीच नजिकबाट हुने सैन्य गतिविधि तथा आमनेसामनेको जोखिम पनि बढेको छ। पछिल्लो पटक गत जुनमा दुई देशबीच यस्तै तनाव उत्पन्न भएको थियो।

त्यतिबेला लियाओनिङसहितको चिनियाँ नौसैनिक समूहले ४० दिनभन्दा बढी समयसम्म ‘दूरसमुद्री युद्ध अभ्यास’ सञ्चालन गरेको थियो। त्यसक्रममा जापानले खतरनाक ढङ्गले नजिकबाट निगरानी गरेको र उत्तेजक गतिविधि सञ्चालन गरेको आरोप चीनले लगाएको थियो।

तर, जापानको रक्षा मन्त्रालयअन्तर्गतको संयुक्त कर्मचारी कार्यालयले ती आरोप अस्वीकार गरेको थियो। जापानको वरपरका समुद्री क्षेत्र र हवाई क्षेत्रमा सुरक्षा तथा निगरानीको काम व्यावसायिक र जिम्मेवारीपूर्वक जारी राख्ने तथा सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै संयमित तर दृढ अडान अपनाउने उसको भनाइ थियो।

गत डिसेम्बरमा पनि लियाओनिङबाट उडेका चिनियाँ लडाकु विमानले ओकिनावा प्रिफेक्चरको दक्षिणपूर्वमा रहेको अन्तर्राष्ट्रिय जलक्षेत्रमा जापानको हवाई आत्मरक्षा बलका विमानलाई दुई पटक राडारको निशानामा राखेका थिए।

त्यसैगरी, गत वर्षको गर्मीयाममा चीनले लियाओनिङसहित अर्को विमानवाहक युद्धपोतलाई पनि पश्चिमी प्रशान्त क्षेत्रमा टाढासम्म परिचालन गरेको थियो। त्यसक्रममा चिनियाँ सैन्य विमानहरू जापानी विमाननजिक पटकपटक पुगेका थिए। टोकियोले यस्ता गतिविधिले दुई देशका विमानबीच ठोक्किने जोखिम बढाएको बताएको थियो।

यद्यपि, चीनसँगको तनाव थप चर्किन नदिन जापानले सतर्क र संयमित नीति अपनाउँदै आएको छ। गत नोभेम्बरमा जापानकी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा सङ्कट उत्पन्न भएमा जापानले सैद्धान्तिक रूपमा सैन्य हस्तक्षेप गर्न सक्ने आशयको अभिव्यक्ति दिएपछि दुई देशबीचको सम्बन्ध पछिल्ला दशककै न्यून बिन्दुमा पुगेको थियो।

चीनले स्वशासित लोकतान्त्रिक टापु ताइवानलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ। आवश्यक परे बल प्रयोग गरेर भए पनि ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउने प्रतिबद्धता चीनले व्यक्त गर्दै आएको छ। जापानका धेरै नीतिनिर्माताले ताइवानमाथि चीनले गर्ने कुनै पनि सैन्य कारबाहीलाई जापानको राष्ट्रिय सुरक्षाका लागि समेत अस्तित्वगत खतरा मान्ने गरेका छन्।

(समाचार र तस्वीर स्रोत द जापान टाइम्स)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.