जापानबिचारबिशेष

मेकअप र घरायसी काममै दैनिक चार घण्टा, जापानी प्रधानमन्त्रीको भनाइले बहस

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले यो साता संसद्मा बजेट, रुस, उदीयमान राजनीतिक विवाद र आणविक तनाव न्यूनीकरणबारे उठेका प्रश्नहरूको जवाफ दिइरहनुभएको थियो। त्यसपछि उहाँको दैनिक कार्यतालिकाबारे प्रश्न उठ्यो।

जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्नुभएकी ताकाइचीले यही अवसरमा एउटा महत्त्वपूर्ण कुरा राख्नुभयो। उहाँका अनुसार, मेकअप गर्ने, नुहाउने, खाना पकाउने र अन्य घरायसी काममा दैनिक कम्तीमा तीन घण्टा बित्ने भएकाले पुरुष पूर्ववर्तीहरूको तुलनामा उहाँको दैनिक कार्यतालिका निकै व्यस्त छ।

“पूर्ण रूपमा स्पष्ट दिमागका साथ बसेर कुनै विषयमा केन्द्रित हुन समय निकाल्नु चुनौतीपूर्ण छ,” उहाँले पुरुष सांसदहरूको बाहुल्य रहेको संसद्मा भन्नुभयो, “पुरुष प्रधानमन्त्रीको तुलनामा यी काममा मैले तीन वा चार घण्टा बढी खर्च गरिरहेको हुन सक्छ।”

ताकाइचीको यस भनाइले जापानमा बहस निम्त्याएको छ। त्यहाँ महिलाहरूले अझै पनि घरायसी कामको असमान रूपमा बढी भार वहन गरिरहेका छन्।

साथै, सार्वजनिक रूपमा चिटिक्क र आकर्षक देखिनुपर्ने कठोर सामाजिक अपेक्षाको दबाब पनि उनीहरूले खेपिरहेका छन्। जापानी संस्कृतिमा यसलाई ‘मिदाशिनामी’ भनिन्छ। यसअन्तर्गत धेरै मेकअप नगरीकन पनि अनुहारमा साजसज्जा गर्नुपर्ने, अग्लो हिल भएका जुत्ता लगाउनुपर्ने तथा छोटा स्कर्ट र गहिरो घाँटी भएका पहिरनबाट जोगिनुपर्ने अपेक्षा गरिन्छ।

ताकाइचीका केही समर्थकले उहाँको भनाइको प्रशंसा गरेका छन्। उनीहरूका अनुसार, काममा सफल हुन महिलाले गर्नुपर्ने अतिरिक्त मेहनत र घरपरिवार सञ्चालनमा उनीहरूले निर्वाह गर्ने भूमिकाबारे ध्यानाकर्षण गराउन उहाँ सफल हुनुभएको छ।

“के उनीहरूले प्रधानमन्त्रीलाई मेकअप नगरी संसद्मा उपस्थित हुनुपर्छ भन्न खोजेका हुन्?” रूढिवादी लेखिका कोतोए हाशिमोतोले जापानको संसद्लाई जनाउने शब्द प्रयोग गर्दै सामाजिक सञ्जाल एक्समा लेख्नुभयो।

तर कट्टर रूढिवादी विचारधारा राख्ने ताकाइचीको भनाइको केही सांसद र टिप्पणीकारले आलोचना गरेका छन्। उनीहरूका अनुसार, उहाँले महिलासम्बन्धी परम्परागत रूढ धारणालाई प्रोत्साहन गरिरहनुभएको छ।

जापानको माथिल्लो सदनकी विपक्षी सांसद योसिको किराले एक अन्तर्वार्तामा ताकाइचीले लैङ्गिक मान्यतालाई थप बलियो बनाउँदै जापानमा महिलाको अधिकार सुधार गर्ने प्रयासलाई कमजोर पारिरहेको बताउनुभयो।

“देखावट र व्यवहारसम्बन्धी यी निश्चित अपेक्षाहरूलाई चुनौती दिन नसकिने, अपरिवर्तनीय र स्वाभाविक व्यवस्थाका रूपमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको देख्दा मलाई गम्भीर असहजता महसुस हुन्छ,” उहाँले भन्नुभयो।

बुधबार भएको नियमित बजेट सुनुवाइका क्रममा ताकाइचीले यस्तो टिप्पणी गर्नुभएको हो। जापानका प्रधानमन्त्रीले व्यवस्थापकीय तथा संसदीय प्रक्रियामा अत्यधिक समय खर्च गरिरहेको निष्कर्ष निकालिएको हालैको प्रतिवेदनबारे सोधिएको प्रश्नको जवाफमा उहाँले आफ्नो कार्यतालिकाबारे बताउनुभएको थियो।

एनएक्सजेआई रिसर्चले तयार पारेको उक्त प्रतिवेदनअनुसार, जापानका प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिन दैनिक सात घण्टासम्म खर्च गर्नुपर्ने हुन सक्छ।

प्रधानमन्त्रीले प्रत्येक वर्ष औसतमा करिब ७२ दिन संसद्का बैठकमा उपस्थित हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ। यसको तुलनामा बेलायतका प्रधानमन्त्रीले वार्षिक ५० दिन र जर्मनीका चान्सलरले १३ दिन संसद्मा बिताउनुपर्ने हुन्छ।

आफूलाई काममा अत्यधिक खटिने व्यक्ति बताउने ताकाइचीले रातमा शून्यदेखि तीन घण्टासम्म मात्र सुत्ने गरेको बताउनुभएको छ। उहाँले आफ्नो व्यस्त कार्यतालिकाबारे चर्चा गर्दै देशले कुन दिशा लिनुपर्छ र कस्तो राष्ट्र बनाउने लक्ष्य राख्नुपर्छ भन्ने विषयमा रणनीतिक रूपमा सोच्न बसेर समय निकाल्न निकै कठिन भएको बताउनुभयो। उहाँका अनुसार, हरेक दिन घर लैजानुपर्ने कागजातको थुप्रो पनि उत्तिकै ठूलो हुन्छ।

प्रधानमन्त्रीले आफ्नो सहयोगी टोलीका सबै सदस्य पुरुष रहेको र उनीहरूलाई आफ्नो कार्यतालिकाअनुसार काम गर्न अभ्यस्त हुन कठिन भइरहेको पनि बताउनुभयो। टेलिभिजनमा उपस्थित हुनुअघि मेकअपका लागि समय छुट्याउनसमेत उनीहरूले आफ्नो डायरीमा व्यवस्था नगर्ने गरेको उहाँको भनाइ थियो।

“उनीहरूलाई म पुरुष प्रधानमन्त्री नभई महिला प्रधानमन्त्री हुँ भन्ने कुरामा अझै अभ्यस्त हुन सकेका छैनन्,” उहाँले भन्नुभयो। उहाँको भनाइ सुनेपछि सांसदहरू हाँसेका थिए।

प्रधानमन्त्री बनेपछि ताकाइचीले परम्परागत मूल्य र मान्यतालाई आत्मसात् गरेको देखाउने प्रयास गर्दै आउनुभएको छ। उहाँले बिरामी पतिका हेरचाह गर्ने, खाना पकाउने र आफ्नो निवास सफा गर्ने गरेकोबारे पनि बताउनुभएको छ।

केही अनुमानअनुसार, जापानी महिलाहरूले घरायसी कामको तीनचौथाइभन्दा बढी भार वहन गर्छन्। यसमा जापानका धेरै कामदारले नियमित रूपमा अतिरिक्त समय काम गर्नुपर्ने अवस्थाले थप दबाब सिर्जना गरेको छ। हालैका सर्वेक्षणअनुसार, उनीहरूले महिनामा २२ घण्टासम्म अतिरिक्त काम गर्नुपर्ने हुन सक्छ।

प्रधानमन्त्री ताकाइचीले आफ्नो आधिकारिक जिम्मेवारी निर्वाह गर्दा सहयोग पाउनुहुन्छ। तर अमेरिकी ह्वाइट हाउसमा जस्तो उहाँका लागि छुट्टै बटलर, भान्से र बगैँचाको हेरचाह गर्ने कर्मचारीको टोली भने छैन।

यस वर्ष ताकाइचीका पति तथा पूर्वसांसद ताकु यामामोतोसँग गरिएको अन्तर्वार्ताअनुसार, प्रधानमन्त्रीको आधिकारिक निवासमा घरायसी कामका लागि सीमित सहयोग उपलब्ध छ।

मासिक पत्रिका ‘बुंगेइशुनजु’ मा प्रकाशित अन्तर्वार्तामा यामामोतोले निवासमा हप्ताको एकपटक सफाइ गर्ने व्यक्ति आउने गरेको तर खाना पकाउने कर्मचारी नभएको बताउनुभएको थियो। उहाँका अनुसार, कहिलेकाहीँ पिज्जा अर्डर गर्नुपर्छ र सुरक्षाजाँच पार गरेर खाना भित्र ल्याउन सहज होस् भनेर डेलिभरी गर्ने व्यक्तिको नामसमेत टिपेर राख्नुपर्छ।

“भवनभित्र प्रवेश गर्ने व्यवस्थामा यति कडा नियन्त्रण छ कि जेलमा बसेजस्तै लाग्छ,” उहाँले पत्रिकालाई भन्नुभएको थियो।

जापानमा घरायसी कामका लागि कर्मचारी राख्ने चलन तुलनात्मक रूपमा कम छ। अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार, त्यहाँ करिब दुई प्रतिशत घरपरिवारले मात्र घरायसी कामदार राख्ने गरेका छन्।

गत वर्ष प्रधानमन्त्री निर्वाचित भएपछि ताकाइचीले “काम, काम, काम, काम र काम” गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यसयता उहाँले आफूलाई सर्वसाधारणसँग नजिक रहेको नेताका रूपमा प्रस्तुत गर्न आफ्नो कठिन कार्यतालिकाबारे बारम्बार चर्चा गर्दै आउनुभएको छ।

जुलाईमा उहाँले आफ्नो निद्राको समयबारे गर्नुभएको टिप्पणीले जापानमा काम र व्यक्तिगत जीवनबीचको सन्तुलनबारे बहस निम्त्याएको थियो। त्यसबेला उहाँले बिदाको सप्ताहान्तमा भित्री वस्त्रमा इस्त्री गरेको, उध्रिन लागेका स्कर्ट सिएको र खुकुलो भएका ज्याकेटका बटन कसिलो बनाएको सुनाउनुभएको थियो।

पुरुषहरूको वर्चस्व रहेको जापानी राजनीतिक प्रणालीमा उदाउनुभएकी ताकाइचीले महिलाको अधिकार कमजोर बनाउने खालका केही नीतिहरूलाई समर्थन गर्नुभएको भन्दै आलोचना पनि हुने गरेको छ।

प्रधानमन्त्रीका रूपमा उहाँले जापानको राजपरिवारको पुरुष वंश परम्परा कायम राख्ने उद्देश्यले ल्याइएको कानुनलाई समर्थन गर्नुभएको छ। साथै, विवाहित दम्पतीले एउटै थर प्रयोग गर्नुपर्ने लामो समयदेखिको कानुनी व्यवस्थामा परिवर्तन गर्ने प्रस्तावको पनि उहाँ विरोध गर्नुहुन्छ।

ताकाइचीले आफ्नो पहिरन, केशविन्यास र मेकअपका कारण पनि कहिलेकाहीँ लैङ्गिक विभेदयुक्त टिप्पणीको सामना गर्नुपरेको छ।

जापानमा ‘मिदाशिनामी’ अर्थात् सार्वजनिक रूपमा चिटिक्क देखिनुपर्ने मान्यता संस्कृतिको महत्त्वपूर्ण हिस्सा बनेको छ। विद्यालयहरूमा कपाल, नङ र स्कर्टको लम्बाइ नियमित जाँच गरिन्छ भने कार्यस्थलमा पनि कडा नियम लागू हुन्छन्।

महिला र पुरुष दुवैका लागि व्यक्तिगत साजसज्जासम्बन्धी अपेक्षा भए पनि व्यवहारमा महिलाहरूले बढी निगरानी र आलोचना सामना गर्नुपर्ने अवस्था छ।

टोकियोकी गभर्नर युरिको कोइकेले पछिल्ला केही वर्षमा पत्रकार सम्मेलनमा लिपस्टिक लगाउन बिर्सिएको भन्दै पटकपटक माफी माग्नुभएको छ।

यसै वर्षको सुरुतिर सार्वजनिक प्रसारण संस्था एनएचकेकी एक समाचारवाचिका भूकम्प आएपछि हतारहतार स्टुडियो पुगेर चस्मा लगाएको र सम्भवतः मेकअप नगरेको अवस्थामा समाचार पढेको विषयले पनि जापानमा व्यापक चर्चा पाएको थियो।

पछिल्ला वर्षहरूमा केही कम्पनीले महिलामाथिको यस्तो दबाब कम गर्ने प्रयास गरेका छन्। जापान एयरलाइन्सले गत वर्ष आफ्नो पोसाकसम्बन्धी नियम खुकुलो पार्दै उडान परिचारिका र भूमिसेवा कर्मचारीलाई अग्लो हिल भएका जुत्ताको सट्टा स्पोर्ट्स जुत्ता लगाउन अनुमति दिएको थियो।

यसै साता टोकियोको एक भूमिगत रेल स्टेसनबाहिर भेटिएका महिलाहरूले ताकाइचीको टिप्पणीबारे मिश्रित प्रतिक्रिया दिएका थिए। केही महिलाले उहाँले मेकअप र नुहाउनमै यति धेरै समय कसरी खर्च गर्न सक्नुहुन्छ भन्ने आफूहरूले बुझ्न नसकेको बताएका थिए।

क्याफेमा आंशिक समय काम गर्ने २२ वर्षीया रिना सुमीले ताकाइचीको भनाइ “आजको समयमा उपयुक्त नभएको” बताउनुभयो।

“आफ्नो लैङ्गिक पहिचानलाई नै बहानाजस्तो बनाएर किन यस्तो कुरा उठाउनु?” उहाँले प्रश्न गर्नुभयो। २७ वर्षीया नर्स मिका ओकादोले आफूलाई दैनिक तयार हुन, आफ्ना लागि बेन्टो अर्थात् जापानी शैलीको खाना तयार पार्नेसमेत गरी एक घण्टा लाग्ने बताउनुभयो।

प्रधानमन्त्रीले आफ्नो दैनिक साजसज्जामा यति धेरै समय दिन सक्नुहुने कुरा आफूलाई आश्चर्य लागेको उहाँको भनाइ थियो। यद्यपि, उहाँले प्रधानमन्त्रीको स्पष्टवक्तापनको प्रशंसा पनि गर्नुभयो।

“एक हिसाबले हेर्दा, उहाँको भनाइ निकै ताजगीपूर्ण छ। उहाँले धेरै सोचविचार नगरी आफ्नो कुरा राखिरहनुभएको छ,” उहाँले भन्नुभयो, “हरेक कदम चाल्नुअघि त्यसको हिसाबकिताब गर्ने वा अरूले त्यसलाई कसरी लिन्छन् भनेर पहिल्यै अनुमान गर्नेभन्दा पनि उहाँमा देखिएको मानवीय पक्ष मलाई राम्रो लाग्यो।”

(न्यूयोर्क टाइम्सका लागि जेभियर सी. हर्नान्डेज र किउको नोटोयाको लेखको नेपाली अनुवाद)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.