दुर्गा पूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु, २५ जना घाइते
भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो ।
प्रहरीका अनुसार केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित बनेको थियो । घटनामा घाइते भएकाहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ ।
अस्पताल पुग्नुभएका मुख्यमन्त्री सुभेन्दु अधिकारीले १९ जनाको मृत्यु भएको र २५ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले राज्यको उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी घटनाको छानबिन गरिने बताउनुभयो ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्दै केही दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी तथा ड्युटीमा खटिएका कर्मचारीलाई हिरासतमा लिएको छ । घटनामा भीड व्यवस्थापन र सुरक्षामा कमजोरी भए–नभएकोबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
दुर्गा पूजा पर्वका लागि कोलकाताभरि स्थानीय रूपमा ‘पण्डाल’ भनिने करिब तीन हजार पाँच सय मण्डप निर्माण गरिएका छन् । घटनापछि अधिकारीहरूले कोलकाताका धेरै भीडभाड हुने स्थल अस्थायी रूपमा बन्द गर्न आयोजकहरूलाई सुझाव दिएका छन् ।
भारतमा ठूला धार्मिक पर्वका क्रममा भीड अनियन्त्रित हुँदा भागदौडका घटना बारम्बार हुने गरेका छन् । यस्ता पर्वमा लाखौँ मानिस सीमित क्षेत्रमा भेला हुने गरे पनि पर्याप्त सुरक्षा र भीड व्यवस्थापनको अभाव रहने गरेको छ ।
सन् २०२५ जनवरीमा विश्वकै ठूलो धार्मिक जमघटका रूपमा चिनिने महाकुम्भ पर्वका क्रममा पवित्र नदीमा स्नान गर्न हजारौँ हिन्दू तीर्थयात्री एकैपटक अघि बढ्दा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।
त्यसैगरी, सन् २०१३ मा मध्य प्रदेश राज्यको एउटा मन्दिरमा धार्मिक पर्वका क्रममा पुल भत्किने डरले तीर्थयात्रीहरू आत्तिँदा भएको भागदौडमा कम्तीमा ११५ जनाको मृत्यु भएको थियो । केही मानिसको नदीमा डुबेर मृत्यु भएको थियो ।



प्रतिक्रिया राख्नुहोस्