मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने ऐतिहासिक अभियान सञ्चालन गर्न जापानले तयारी गरेको छ ।
यसले मङ्गल ग्रह र यसका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण तथा पृथ्वीमा जीवनको सुरुआतबारे महत्त्वपूर्ण जानकारी दिने वैज्ञानिकहरूको अपेक्षा छ ।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार एमएमएक्स अन्तरिक्षयान बोकेको एच–३ रकेट मङ्गलबार बिहान ४ः४१ बजे तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गर्ने तयारी छ ।
अन्तरिक्षयान एक वर्षपछि मङ्गल ग्रहको नजिक पुग्नेछ र फोबोसको तीन वर्षसम्म परिक्रमा गर्दै त्यहाँबाट कम्तीमा १० ग्राम नमूना सङ्कलन गर्नेछ । फ्रान्सेली हास्य पात्र एस्टेरिक्सको कुकुरको नामबाट ‘इडिफिक्स’ नाम दिइएको रोभरले अवतरणका लागि उपयुक्त स्थान पहिचान गर्न सतहको अवलोकन गर्नेछ ।
एमएमएक्सका परियोजना प्रबन्धक यासुहिरो कावाकात्सुका अनुसार यो मङ्गल ग्रह प्रणालीबाट नमूना सङ्कलन गरी पृथ्वी फर्किने विश्वकै पहिलो अभियान हुनेछ । यसले भविष्यमा मङ्गल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि विकास गर्नसमेत सहयोग पु¥याउनेछ । अन्तरिक्षयानले मङ्गल ग्रहको अर्को चन्द्रमा डिमोसको पनि अवलोकन गर्नेछ ।
वैज्ञानिकहरूले फोबोस र डिमोस मङ्गल ग्रहसँग अर्को खगोलीय पिण्ड ठोक्किएर बनेका हुन् वा मङ्गल ग्रहको गुरुत्वाकर्षणले क्षुद्रग्रहलाई आफ्नो कक्षमा तानेर बनेका हुन् भन्ने पत्ता लगाउने आशा गरेका छन् ।
यसबाट चट्टानी ग्रहमा जीवन अनुकूल वातावरण कसरी विकास भयो भन्ने बुझ्न मद्दत पुग्न सक्छ । अभियानमा सहभागी फ्रान्सेली खगोलशास्त्री प्याट्रिक मिशेलका अनुसार चन्द्रमाका नमूनाले पानी तथा जैविक पदार्थ सौर्यमण्डलका ग्रहसम्म कसरी पुगे भन्ने सङ्केत दिन सक्छन् ।
फ्रान्स, जर्मनी, अमेरिका र युरोपका अन्तरिक्ष निकायसहित करिब २० विश्वविद्यालय तथा प्रविधि कम्पनी यस अभियानमा सहभागी छन् । जापानले यसअघि सन् २०२० मा हायाबुसा–२ मार्फत क्षुद्रग्रहबाट ५.४ ग्राम चट्टान र धुलो पृथ्वीमा ल्याएको थियो । तर, मङ्गल ग्रहको बलियो गुरुत्वाकर्षणबाट बाहिर निस्केर फर्कनुपर्ने भएकाले यो अभियान थप चुनौतीपूर्ण छ ।
यसैबीच, चीनले सन् २०२८ तिर तियानवेन–३ अभियान प्रक्षेपण गरी सन् २०३१ सम्ममा मङ्गल ग्रहको सतहबाट नमूना पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ । जापानी वैज्ञानिकहरूका अनुसार फोबोसका चट्टान र बालुवाले मङ्गल ग्रहको सतहबाट प्राप्त नमूनाभन्दा फरक जानकारी दिन सक्छन् ।




प्रतिक्रिया राख्नुहोस्