इरानको तेल कब्जा गर्नेदेखि पूरै देश नियन्त्रणमा लिनसक्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार, २३ अक्टोबरमा इरानमाथि पुनः सैन्य कारबाही गर्न सकिने बताउँदै अमेरिकाले चाहे इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देश नियन्त्रणमा लिन सक्ने दाबी गर्नुभएको छ।
ट्रम्पको पछिल्लो अभिव्यक्ति अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि आएको हो। उहाँले यसअघि अक्टोबर ८ मा निर्वाचन हुनुअघि इरानमाथि आक्रमण नगर्ने बताउनुभएको थियो। तर, निर्वाचनपछि सैन्य कारबाहीको सम्भावना भने खुला राख्नुभएको छ।
शुक्रबार ह्वाइट हाउसबाट फ्लोरिडा प्रस्थान गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको दाबी गर्नुभयो। फ्लोरिडामा आयोजित चुनावी सभामा पनि उहाँले अमेरिकाले फेरि ‘एपिक फ्युरी’ नामक सैन्य अभियान सञ्चालन गर्न सक्ने बताउनुभयो।
अमेरिका र इजरायलले २८ फेब्रुअरी २०२६ मा इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेका थिए। त्यसयता जारी द्वन्द्व आठ महिनातर्फ अघि बढिरहेको छ।
अमेरिकाले युद्ध छिट्टै अन्त्य गर्न सक्ने दाबी गरे पनि त्यसलाई निर्णायक रूपमा टुङ्ग्याउने वा क्रमशः कमजोर हुँदै जान दिने भन्ने विकल्पबारे ट्रम्पले स्पष्ट निर्णय सार्वजनिक गर्नुभएको छैन।
यसैबीच, अमेरिकी र इजरायली सेनाले मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्न सकिने योजना तयार पारेको समाचार सार्वजनिक भएका छन्। यद्यपि, नयाँ सैन्य अभियानका लागि ट्रम्पले अन्तिम स्वीकृति दिनुभएको पुष्टि भएको छैन।
इरानले भने अमेरिका र इजरायलले पुनः आक्रमण गरे कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले सम्भावित नयाँ आक्रमणका लागि प्रतिकार योजना तयार पारिएको बताएका छन्। यसले मध्यपूर्वमा द्वन्द्व पुनः चर्किन सक्ने र विश्व बजारमा तेलको मूल्य तथा आपूर्तिमा थप असर पर्न सक्ने चिन्ता बढाएको छ।




प्रतिक्रिया राख्नुहोस्