काठमाण्डु गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० को प्ले अफमा प्रवेश गरेको छ । शुक्रबार भएको दिनको पहिलो खेलमा काठमाण्डुलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम प्ले अफमा प्रवेश गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनायो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकीय पारी खले भने आरिफ शेखले १६ रन बनाए । आठ रनमा चार विकेट गुमाएको सुदूरपश्चिमको लागि यी दुईले पाँचौं विकेटको लागि ५८ रनको साझेदारी गरेका थिए ।
त्यस्तै थारिन्दु रत्ननायेकेले २६ रनमा अविजित रहनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । दीपेन्द्र र थारिन्दुले छैटौं विकेटको लागि ५४ रनको साझेदारी गर्दै टोलीको इनिङ्ग उकासेका थिए । काठमाण्डुको लागि जहानदाद खानले तीन विकेट लिए भने सन्तोष यादवको भागमा दुई विकेट लिए रह्यो । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य लिएर मैदान उत्रेको काठमाण्डुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रनमात्र बन्यो ।
काठमाण्डुको लागि राशिद खानले ३५ रन बनाए भने दुशन हेमन्तले २१ रन जोडे । त्यस्तै स्याम हेजलेटले ११ र सन्तोष यादवले १० रन जोडे । सुदूरपश्चिमको लागि अनिल खरेलले दुई विकेट लिए भने हेमन्त धामी, स्कट कुगलिन र फाबियन एलेनको भागमा समान एक-एक विकेट रह्यो ।
जितसंगै सुदूरपश्चिम सात खेलमा १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिदै प्ले अफमा प्रवेश गरेको छ भने छ खेलमा आठ अंक जोडेको काठमाण्डुको प्ले अफमा पुग्ने सम्भावना जिवितै रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्