प्रबास

पुनः श्रम स्वीकृति अनलाइनबाटै- नयाँ वर्षबाट वैदेशिक रोजगारीमा नयाँ सुरुवात

अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसंगै नेपालको वैदेशिक रोजगारीमा नयाँ पद्धतिको थालनी भएको छ । वैदेशिक रोजगार विभागले जनवरी १ देखि संसारको जुनसुकै कुनाबाट पनि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ ।

विभागका महानिर्देशक कुमार दाहालले विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यताको पनि अन्त्य हुने बताउनुभयो । यस्तो सुविधा श्रमिकले दुई पटकसम्म विदेशबाटै श्रम रि–इन्ट्रीको सुविधा पाउनेगरी व्यवस्था गरिएको छ ।

यो व्यवस्थासँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिले पुनः श्रम स्वीकृति (रिइन्ट्री)का लागि श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने छन् ।

यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका श्रमिक बढीमा दुई पटकसम्म लाभ लिन सक्नेछन् । विभागका अनुसार यसरी अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्य १७ पुस अर्थात (सन् २०२१ जनवरी १) बाट सुचारु हुनेछ ।

एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक आइरिक्स (आँखाको स्क्यान वा औँठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाले अनलाइन पुनः श्रम स्वीकृति सेवा लिन सक्ने छन् । त्यस्तै अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि सेवा प्राप्त गर्न वैदेशिक रोजगार विभागको वेबसाइटबाट अनलाइन श्रम स्वीकृतिमार्फत फारम भर्नुपर्नेछ ।

श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन रिजेक्ट भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउन्टमा सूचना जाने भएकाले आफ्नो मोबाइल नं र इमेल ठेगाना सही भर्नुपर्ने छ । त्यस्तै श्रम स्वीकृतिका लागि आवेदन गर्दाको युजर नाम र पासवर्ड सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफईआईएमएसको युजर एकाउन्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुने भएकाले आवेदक आफैँले आवश्यकता अनुसार प्रिन्ट गर्न सकिने विभागले जनाएको छ ।

त्यस्तै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत गर्न सकिने र यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क नलाग्ने पनि विभागले स्पष्ट पारेको छ । यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति गर्दा कार्यालय उपस्थित भइरहनुपर्ने समस्याबाट सहज हुने भएकाले उक्त सेवाको प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आईएमई–पे, ई–सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।

यो व्यवस्थापछि श्रम स्वीकृति लिएर गए पनि अवधि सकिएपछि विदेशमै बसिरहनुपरेका श्रमिकलाई पनि श्रम स्वीकृति लिन सहज हुनेछ । यो व्यवस्थापछि श्रम रि–इन्ट्री नगरेका कारण समस्या पर्दा कोषबाट सुविधा नपाउने अवस्थाको पनि अन्त्य हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.