राजनीति

अदालतले संसद विघटनको पक्षमा निर्णय दिए कांग्रेस चुनावमा जाने

देउवाका आलोचक नेताको साझा बैठक

देउवाका आलोचक नेताको साझा बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले उहाँकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताउनुभयो ।

कांग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उहाँले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गर्नुभयो । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उहाँको धारणा थियो ।

जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उहाँले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने बताउनुभयो । सभापति देउवाले कांग्रेस स्थापना गर्ने चार नेतामध्ये सूर्यप्रसाद उपाध्याय पनि एक भएको उल्लेख गर्दै पार्टीले उहाँको उच्च कदर गर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद् विघटन गर्ने ठाउँ नरहेको बताउनुभयो । कांग्रेस संसद् पुनस्र्थापनाको पक्षमा आवाज लिएर सडकमा जानुपर्ने उहाँको भनाइ थियो । कांग्रेसले विगतमा पनि चुनाव बहिष्कार गरेकाले अहिले संसद् पुनस्र्थापनाकै पक्षमा सशक्तरूपमा आवाज उठाउन पार्टीसित विकल्प नभएको नेता पौडेलले बताउनुभयो । उपाध्यायको कांग्रेसमा ठूलो योगदान भएको र त्यसलाई नजरअन्दाज गर्न नमिल्ने नेता पौडेलले बताउनुभयो ।

कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले उपाध्यायले पार्टीलाई जीवन्त राख्ने काम गरेको उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उपाध्यायको तस्बीर पार्टी कार्यालयमा राख्न तथा पृथ्वीजयन्ती मनाउने निर्णय गर्न सभापति देउवालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वसांसद दिव्यमणि राजभण्डारी, कांग्रेस नेता लोकेश ढकाल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसी, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र उपाध्यक्ष डा विमला शाक्यले उपाध्यायको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.