सभापतिको प्रस्तावक प्रधानमन्त्री बन्दा विवाद शान्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आन्तरिक गुटबन्दीका कारण एक दिन ढिलो सुरु भएपछि पार्टीभित्रको तनावले चर्चा पाएको थियो ।
विभिन्न पार्टीबाट आएका फरकफरक स्वभाव र पृष्ठभूमिका नेतासमूह एकै छानामुनि आइपुगेपछि यस्तो जटिलता स्वाभाविक मानिए पनि विपक्षीहरूले भने यसलाई आलोचनाको अवसरका रूपमा उपयोग गरे ।
तथापि, सभापतिका लागि स्वयं प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह रवि लामिछानेका प्रस्तावक बनेपछि परिस्थिति बदलियो ।
बालेन्द्र समूहबाट पदाधिकारीमा कुनै उम्मेदवारी नपरेको र सभापति तथा वरिष्ठ नेतृत्वले सुझबुझपूर्ण निर्णय गरेको घटनाक्रमले पार्टीभित्रको गुटगत तनाव निकासतर्फ मोडियो ।
रास्वपाका नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले महाधिवेशनस्थलमा पत्रकारसँग कुराकानी गर्दै पार्टीमा कुनै गुट वा उपगुट नरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “सभापति रवि लामिछानेका प्रस्तावक स्वयं वरिष्ठ नेता बालेन्द्र शाह बन्नुभएपछि गुटको चर्चा अन्त्य भएको छ । पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।”
संविधान संशोधन कार्यदलका संयोजकसमेत रहनुभएका असिम शाहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसार नै अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँका अनुसार आगामी सय दिनभित्र बहसपत्र तयार गरी त्यसका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइनेछ ।




प्रतिक्रिया राख्नुहोस्