खेलफूटबल

दुई खेल अगावै मछिन्द्रलाई शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि

यसअघिको लिग विजेता मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो ।

मछिन्द्रले अब १२औँ चरणको खेलमा थ्रीस्टार क्लब र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग खेल्न बाँकी छ । यी दुवै खेलमा हार बेहोरे पनि दोस्रो स्थानको टोलीले मछिन्द्रलाई भेट्ने छैन

अङ्क तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले ११ खेलमा २९ अङ्क जोडेको छ । मछिन्द्र दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबभन्दा ९ अङ्कले अघि रहेको छ । १० खेल खेलेको मनाङको २० अङ्क रहेको छ । मनाङले अब तीनै खेल जिते पनि ‘हेड टू हेड’का आधरमा मछिन्द्र नै अगाडि हुनेछ ।

त्यस्तै मछिन्द्रले ११ खेलमा ९ जीत र २ बराबरीको नतिजा निकालेको छ । यसअघि मछिन्द्रले २०७६ सालमा भएको ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । त्यतिबेला मछिन्द्रले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

मछिन्द्रको जीतमा अजरबैजानका खेलाडी नुर्लान नोभ्रोजोभ नायक बने । उनले खेलको ५३औँ मिनेटमा गरेको एक गोल नै मछिन्द्रका लागि निर्णायक गोल साबित बन्यो । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडलाई सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए पनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गर्न सफल भए ।

यस हारसँगै ११ खेल खेलेको सातदोबाटोले १५ अङ्क जोडेको छ । सातदोबाटो अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button