फिफा विश्वकप फुटबल प्रतियोगितामा अमेरिका र अष्ट्रेलिया समूह ‘डी’को विजेता र उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।
अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा सम्पन्न खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘डी’बाट चार अङ्क बटुलेको अष्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको हो ।
अष्ट्रेलियासँग बराबरी खलेको पाराग्वेको भने नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहेको छ । त्यस्तै आजै भएको अर्को खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमा अस्टिन ट्रस्टीले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए ।

तर खेलको १० औं मिनेटमा टर्कीका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यस्तै खेलको ३१ औं मिनेटमा टर्कीका लागि ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । तर अमेरिकाका लागि ४९ औं मिनेटमा सेबस्टियन बरहाल्टरले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समय को ८ औं (९०+८) मिनेटमा कान आयहानले गोल गर्दै टर्कीलाई जित दिलाए । ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको अमेरिका समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो । सोही समूहमा रहेको टर्की ३ अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

टर्कीले यसअघि पाराग्वे र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यसअघि दुई खेलमा जित निकालेको अमेरिका शीर्ष स्थानमा रहेर समूहको विजेता बनेको हो ।




प्रतिक्रिया राख्नुहोस्