घरको चौघेरा, चुलो–चौको र परम्परागत भूमिकाभित्र सीमित गरिएका छोरीहरूका लागि खेलकुदमा भविष्य देख्नु सजिलो थिएन । छोरीहरूले क्रिकेट मैदानमा पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो । राष्ट्रिय टोलीको जर्सी लगाउने सपना त झन टाढाको कुरा ।
दक्षिण अफ्रिकाका महान् नेता नेल्सन मण्डेलाले भन्नुभएको थियो, “खेलकुदमा संसार परिवर्तन गर्ने शक्ति हुन्छ । यसमा मानिसहरूलाई एकताबद्ध गर्ने र जहाँ निराशा मात्र छ, त्यहाँ आशा जगाउने अद्भूत क्षमता हुन्छ ।”
आज नेपालमा महिला क्रिकेटले यही परिवर्तनको कथा लेखिरहेका छन् । हिजो बेल्ना चौकामा सीमित हातहरूले आज आत्मविश्वासका साथ क्रिकेट मैदानमा ब्याट चलाइरहेका छन् । सटिक बलिङ गरिरहेका छन् । अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराइरहेका छन् ।
नेपाली महिला क्रिकेटको बढ्दो यात्रा केवल खेलकुदको उपलब्धि मात्र होइन, महिला सशक्तीकरणको एउटा सशक्त आधार पनि हो । यस परिवर्तनको उदाहरण हुनुहुन्छ राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी रचना चौधरी ।
सुदूरपश्चिमको कैलाली जिल्लाको सुवर्णपुरबाट बुबासँगै अध्ययनका लागि पोखरा आउनुभएकी रचना अहिले कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।
उहाँको क्रिकेट यात्रा योजनाबद्ध होइन, संयोगबाट सुरु भएको थियो । कक्षा ९ मा अध्ययनरत रहँदा १४ वर्षको उमेरमा किडासा फाउण्डेशनमार्फत क्रिकेटसँग जोडिनुभएकी रचना रमाइलोका लागि खेल क्षेत्रमा आउनुभएको थियो ।
“मलाई त्यतिबेला पढाइभन्दा खेल्न रमाइलो लाग्थ्यो । रमाइलोका लागि खेलेको खेलले नै मलाई पहिचान दियो । पछि क्रिकेट नै मेरो जीवनको हिस्सा बन्यो”, उहाँ सम्झनुहुन्छ ।
मिस्त्री काम गर्ने बुबाको सङ्घर्षका बीच हुर्किएकी रचनाले त्यतिबेला क्रिकेटले आफ्नो जीवन नै बदलिदिन्छ भन्ने कल्पनासमेत गर्नुभएको थिएन । तर निरन्तर अभ्यास, मिहेनत र समर्पणले उहाँलाई राष्ट्रिय टोलीसम्म पुर्यायो । आज उहाँ नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौताअन्तर्गत आबद्ध रहँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ ।
मलेसियामा सम्पन्न आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने अवसरलाई उहाँ आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक मान्नुहुन्छ ।
गण्डकी प्रदेशकी अर्की खेलाडी सिर्जना पौडेलको अनुभव पनि महिला सशक्तीकरणसँग जोडिएको छ । व्यावसायिक क्रिकेट खेल्दै मासिक पारिश्रमिक प्राप्त गरिरहनुभएकी पौडेलका लागि क्रिकेट केवल खेल होइन, आत्मविश्वास आत्मनिर्भरता र स्वतन्त्रताको माध्यम हो ।
उहाँ भन्नुहुन्छ, “जब म मैदानमा ब्याट समातेर उभिन्छु, मलाई लाग्छ यो केवल काठको टुक्रा होइन, मेरो आत्मविश्वासको आधार हो । हिजो ‘छोरी भएर घरभित्र बस’ भन्ने समाजले आज हाम्रो चौका र छक्कामा ताली बजाइरहेको छ ।”
स्याङ्जाकी खेलाडी सिमाना केसीको अनुभवले पनि महिला क्रिकेटमा आएको परिवर्तनलाई पुष्टि गर्छ । सन् २०२० देखि क्रिकेट खेल्न थाल्नुभएकी केसी अहिले बिबिए अध्ययनसँगै सिनियर क्रिकेट टिममा सक्रिय हुनुहुन्छ ।
आइसिसी यु १९ टोलीमा छनोट हुँदा निकै खुसी लागेको क्षणसँगै अहिले सिनियर टिममा रहेर हालै मात्र मलेसियामा भएको एसिया प्रिमियर कपको अनुभव बटुलेर फर्कनुभएको छ ।
राष्ट्रिय टिमबाट मासिक पारिश्रमिक बुझेर खेल्दै आउनुभएकी केसी भन्नुहुन्छ, “खेलकुद अब आत्मनिर्भर बन्ने माध्यम पनि बन्दै गएको छ, यसले आत्मविश्वास र सशक्तीकरण यात्रामा थप हौसला मिलेको छ ।”
स्याङ्जाकै कुशुम गोदार पनि व्यावसायिक खेलमैदानमा हुनुहुन्छ । गण्डकी प्रदेशबाट पारिश्रमिक बुझेर खेल्दै आउनुभएकी गोदार यतिबेला नयाँ खेलाडीलाई प्रोत्साहन गर्न व्यस्त हुनुहुन्छ ।
इच्छाशक्ति र आत्मविश्वासका साथ आउनसके क्रिकेटले आफ्नो पहिचानसहित आत्मनिर्भरको बाटो समेत तय गर्ने धारणा राख्ने गोदारले आत्मविश्वास बढ्दा जस्तै चुनौतीलाई पार लगाउनसक्ने क्षमता खेलबाट बटुलेको सुनाउनुभयो ।
नेपाल महिला क्रिकेटको यात्रालाई नजिकबाट नियाल्नुभएकी नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले विगत र वर्तमानबीचको ठूलो अन्तर अनुभव गर्नुभएको छ ।
“आज महिला क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ, त्यसको यात्रा सहज थिएन । म क्रिकेटमा आउँदा महिलाको सहभागिता निकै न्यून थियो । क्रिकेट खेल्ने छोरीलाई समाजले सहज रूपमा स्वीकार्दैनथ्यो । ‘ब्याट र बल बोकेर केटाजस्तो हिँड्छे’ भन्ने टिप्पणीहरू सुन्नुपथ्र्यो,” थापा सम्झनुहुन्छ । देशको पहिलो महिला राष्ट्रिय टोलीको कप्तानी गर्ने अवसरलाई नेपाली महिला क्रिकेटको इतिहासमा एउटा महत्वपूर्ण अध्यायको रुपमा लिएको उहाँको भनाइ छ ।
गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले करिब डेढ दशकअघिको समय स्मरण गर्दै भन्नुहुन्छ । “२०६८ सालतिर छोरीलाई क्रिकेट खेल्न पठाउन अभिभावकहरू तयार हुँदैनथे । ‘मेरो छोरीको जिम्मा कसले लिन्छ ?’ भन्ने प्रश्न बारम्बार आउँथ्यो । राष्ट्रिय प्रतियोगितामा पठाउन अभिभावकले स्वीकृति नदिदा निकै समस्या हुन्थ्यो । आज भने अवस्था फेरिएको छ ।
अभिभावकहरू आफैँ छोरीहरूलाई क्रिकेट प्रशिक्षणका लागि एकेडेमीमा पु¥याउन थालेका छन् । उहाँले नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला खेलाडीहरूलाई मासिक पारिश्रमिक उपलब्ध गराउन थालेपछि क्रिकेटप्रतिको आकर्षण पनि बढ्न थालेको बताउनुभयो ।
सिग्देलका अनुसार आज नेपालभर करिब ३० जिल्लामा महिला क्रिकेट गतिविधि सञ्चालन भइरहेको छ । झण्डै ४५० देखि ५०० जना महिला खेलाडी सक्रिय रूपमा क्रिकेटमा आबद्ध छन् ।
प्रदेशस्तरमा करिब १५० जना खेलाडी प्रतिस्पर्धामा छन् भने राष्ट्रियस्तरमा करिब ३० महिला खेलाडीले नियमित रूपमा प्रतिनिधित्व गरिरहेका छन् । विभिन्न उमेर समूह र सिनियर तहमा सात प्रदेशका १४–१५ वटा टोली राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।
पहिले क्रिकेट खेल्दा भविष्य देखिँदैन भन्ने धारणा बदलिदै अहिले खेलाडीहरूले खेललाई पेशाका रूपमा हेर्ने वातावरण बने पनि महिला क्रिकेटको विकासका लागि अझै पनि चुनौतीहरू बाँकी रहेको प्रशिक्षक दिपेश खत्रीको अनुभव छ ।
“देशका धेरै जिल्लामा महिलामैत्री खेल पूर्वाधारको अभाव छ । निजी क्षेत्रको लगानी र स्पोन्सरसिप पनि अपेक्षाकृत न्यून छ”, उहाँ भन्नुहुन्छ, “सहरी क्षेत्रमा अवसर बढे पनि ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली छोरीहरू अझै अवसरबाट वञ्चित छन् । खेलाडीहरूको सामाजिक सुरक्षा र खेल जीवनपछिको रोजगारी सुनिश्चित गर्न स्पष्ट नीति आवश्यक छ ।”
नेपाली महिला क्रिकेटको वर्तमान अवस्थालाई हेर्दा आफूलाई गर्व लाग्ने बताउनुहुन्छ पूर्वराष्ट्रिय क्रिकेट कप्तान तथा नेपालमा महिला क्रिकेटका प्रणेता लेखबहादुर क्षेत्री । आज महिला क्रिकेटले प्राप्त गरेको सफलता एक दिनको उपलब्धि नभई दुई दशकभन्दा लामो सङ्घर्ष, धैर्य र समर्पणको परिणाम भएको उहाँको बुझाइ छ ।
“आज महिला क्रिकेट जुन स्थानमा पुगेको छ, त्यो सहजै प्राप्त भएको होइन, नेरी थापा, सीता राना मगर, रुबिना क्षेत्री, पूजा महतो, इन्दु बर्मालगायतका खेलाडीहरूले गरेको सङ्घर्ष, त्याग र समर्पणका कारण नेपाली महिला क्रिकेटले आज अन्तरराष्ट्रियस्तरमा आफ्नो उपस्थिति बलियो बनाएको हो ।”
नेपाली महिला क्रिकेटको इतिहास सम्झँदा सन् २००७ मा मलेसियाको जोहोरमा आयोजित पहिलो एसिसी महिला च्याम्पियनसिप विशेष महत्व रहेको क्षेत्री बताउनुहुन्छ । “नेपालले पहिलोपटक अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उपविजेता बन्न सफल भएको थियो । त्यो उपलब्धिले नेपाली महिला क्रिकेटको सम्भावना अन्तरराष्ट्रिय समुदायसामु चिनाएको थियो ।”
क्षेत्री सम्झनुहुन्छ, “२०६१ सालतिर बाँकेको कोहलपुरमा महिला क्रिकेटका गतिविधि सुरु गर्दा खेलाडी जुटाउनै कठिन हुन्थ्यो । सामाजिक सोच, पूर्वाधारको अभाव र सीमित अवसरका बीच छोरीहरुले ठूलो सपना बोकेर मैदानमा आउँथे । उनीहरूको आत्मविश्वास र साहस देख्दा एक दिन महिला क्रिकेटले अवश्य सफलता पाउने विश्वास जाग्थ्यो ।”
उहाँका अनुसार सन् २०१० देखि २०१५ सम्म महिला क्रिकेट लगभग ठप्पजस्तै भयो । प्रतियोगिता कम भए, खेलाडीहरू पलायन भए र विकासको गति सुस्तायो, यसले नयाँ खेलाडी उत्पादनमा समस्या भयो । सन् २०१७ पछि भने महिला क्रिकेटले पुनः नयाँ गति लिन थाल्यो ।
राष्ट्रिय खेलकुद परिषद्, क्यान र विभिन्न सरोकारवालाको पहलमा प्रधानमन्त्री कपलगायतका राष्ट्रिय प्रतियोगिताले महिला क्रिकेटलाई पुनर्जीवित ग¥यो ।
क्यानले महिला क्रिकेटलाई दीर्घकालीन दृष्टिकोणका साथ अगाडि बढाउन थालेपछि खेलाडी उत्पादन, प्रशिक्षण र अन्तरराष्ट्रिय सहभागितामा उल्लेखनीय सुधार आएको उहाँको भनाइ छ ।
आज नेपाली महिला क्रिकेटले यू–१९, एसिया कप हुँदै विश्व कपसम्मको यात्रा तय गरिसकेको छ । “हिजो अन्तरराष्ट्रिय प्रतियोगिता खेल्नु नै ठूलो उपलब्धि थियो, आज विश्वकप र एसिया कपमा प्रतिस्पर्धा गर्ने स्तरमा पुग्नु नेपाली महिला क्रिकेटको ऐतिहासिक फड्को हो,” उहाँले महिला क्रिकेटको अर्को महत्वपूर्ण उपलब्धि आर्थिक आत्मनिर्भरता पनि भएको बताउनुहुन्छ । “एक समय खेलाडीहरूले आफ्नै खर्चमा खेल्नुपथ्र्यो ।
आज क्यानको केन्द्रीय र प्रदेशसम्झौतामा रहेर खेलाडीहरूले पारिश्रमिक पाउन थालेका छन् । यसले क्रिकेटलाई पेसागत रूपमा अघि बढाउने वातावरण बनाएको छ ।
सामान्य परिवारबाट आएका धेरै छोरीहरूले आज क्रिकेटमार्फत आफ्नो परिचय र भविष्य निर्माण गर्न तल्लिन छन् ।” यद्यपि चुनौतीहरू अझै बाँकी रहेको उहाँको भनाइ छ ।
“अहिले पनि धेरै जिल्लामा गुणस्तरीय मैदान, प्रशिक्षक, नियमित प्रतियोगिता र निजी क्षेत्रको लगानीको अभाव छ । ग्रामीण भेगका धेरै प्रतिभाशाली छोरीहरू अवसरको पहुँचभन्दा बाहिर छन् । उनीहरूलाई पहिचान गरी राष्ट्रिय प्रणालीमा जोड्नु आवश्यक छ,” उहाँले जोड दिनुभयो ।
आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै क्षेत्रीले अहिलेदेखि नै तयारीमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपालले अब सहभागिता मात्र होइन, प्रतिस्पर्धात्मक सफलता हासिल गर्ने लक्ष्य राख्नुपर्छ । त्यसका लागि जिल्ला र प्रदेशस्तरबाट प्रतिभा पहिचान, नियमित प्रतियोगिता, वैज्ञानिक प्रशिक्षण र दीर्घकालीन योजना आवश्यक छ ।
आज लगानी गरिएका किशोरी खेलाडीहरू नै भोलि नेपालको अन्तर्राष्ट्रिय सफलताका आधार बन्नेछन्,” एउटा कठिन यात्राबाट आफ्नो गौरवमय पहिचान बनाउन सफल महिला खेलाडीको प्रत्येक ब्याटको प्रहारसँगै उनीहरुको आत्मविश्वास अझ बलियो बन्दै गएको छ । यही आत्मविश्वास, सङ्घर्ष र सफलताको यात्राले समतामूलक, समावेशी र सशक्तीकरणको आधार निर्माण गरिरहेको छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्