जन सरोकार

ल्होत्से मलमा लुटपाट गर्ने चारजना सार्वजनिक, छजनामाथि अनुसन्धान, अरुको खोजी जारी

काठमाडौँ महानगरपालिका–२६ गोंगबुको नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरी विभिन्न पसलमा लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी उक्त घटनामा दैलेखका चिरन रेग्मी, काठमाडौँको सामाखुसी बस्ने नविन खड्गी, रुपन्देहीका सुजन खत्री र झापाका प्रदीप बस्नेत रहेका जानकारी गराएको छ । अन्य संलग्नको खोजी कार्य जारी रहेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उक्त मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्राली, डायमन्ड मोबाइल प्राली तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालीमा तोडफोड गरी उक्त पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोनलगायतका सामान चोरी गरी लगेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले जरिवाना बढाएकामा घटाउनुपर्ने, माइक्रोबस व्यवस्थापन लगायतको माग राखी विभिन्न यातायात मजदुर सङ्गठनले गरेको आन्दोलनका क्रममा यही फागुन १ गते त्यहाँ तोडफोडसहित लुटपाट भएको थियो ।

उक्त घटना भएको थाहा पाएपछि तत्कालै प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगी घटनास्थल मुचुल्कालगायतका कार्य सम्पन्न गरी घटनामा संलग्न व्यक्तिको खोजतलास गरी अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको परिसरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

उनीहरुबाट चोरिएका केही सामग्री बरामद गरिएको जानकारी दिँदै प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २० अन्तर्गत चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसै गरी प्रहरीले घटनाममा संलग्न रहेको आशंकामा उदयपुर बलमता गा.पा.वडा नं.०२ घर भई हाल काठमाण्डौ तार्केश्वर न.पा.वडा नं.१०, मनमैजु वस्ने बिक्रम राई, नुवाकोट पञ्चकन्या गा.पा.वडा नं.०३ घर भई हाल काठमाण्डौ टोखा नगरपालिका वडा नं.०३ बानियाटार वस्ने रामहरी भण्डारी, लमजुङ वेशीशहर न.पा.वडा नं.०५ घर भई हाल काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालिका वडा नं.१० वस्ने विवेक श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै , काभ्रेपलान्चोक मानेडाडाँ गा.पा.घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं.१६ वस्ने राजेश तामाङ, प्युठान कडी गा.पा.वडा नं.०१ घर भई हाल गोंगवु वस्ने दिपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लु गा.पा.वडा नं.०२ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं.१६ गंगाहल वस्ने आशिष खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.