विश्व समाचार

दिल्ली हिंसामा १८ जनाको मृत्यु, परिस्थिति अझै नाजूक- शान्त रहन प्रधानमन्त्री मोदीको आग्रह

नागरिकतासम्बन्धी संशोधित नयाँ व्यवस्थाको पक्ष र विपक्षमा भएको प्रदर्शनका क्रममा भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण एक प्रहरी अधिकृत सहित २० जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् ।

जिटीबी अस्पतालले बुधबार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेहरुमा प्रदर्शनकारी र प्रहरीहरु रहेका छन् ।

नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ । मङ्गलबार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग कुराकानी गर्नु भएको छ ।

दिल्ली उच्च अदालतको मङ्गलबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र घाइतेहरुको उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ ।

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए ।

प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भिडलाई तितरबितर बनाएको छ । यो भिडमा खासगरी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य समेत रहेका थिए । उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।

गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिक कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुबीच हिंसात्मक झडप शुरु भएको थियो । यो हिंसाले सोमबार र मङ्गलबार निकै डरलाग्दो रुप लिएको थियो ।

मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ ।

नयाँ कानुन अनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तर तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसंख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गर्नुभएको छ । केन्द्रीय राजधानी नयाँदिल्लीमा गत आइतबारदेखि भइरहेको प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि बुधबार उहाँले शान्त हुन आह्वान गर्नुभएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नु भएको छ, “नयाँ दिल्लीका विभिन्न ठाउँमा भएका हिंसात्मक घटना तत्काल रोक्न आग्रह गर्दछु, अवस्थालाई शान्तिपूर्ण बनाउन सामान्यीकरण गर्न प्रहरी र अन्य सरोकारवालाहरु लागिरहेका छन् ।”

“शान्ति र एकता हाम्रो संस्कृति र परम्परा हो, मैले मेरा दिदीबहिनी र दाजुभाइलाई भाइचारा र शान्ति कायम गर्न आग्रह गर्दछु, हामी सबै तत्काल सम्हालिन अत्यावश्यक छ,” उहाँले लेख्नु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.