प्रधानमन्त्री ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको पनि अस्पतालले जनाएको छ ।
बिहीबार अस्पतालमा पत्रकारसँग कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको बताउँदै भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिनुभयो ।
अस्पतालका अनुसार बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति स्थिर रहेको र उनलाई पनि तरल र नरम खानेकुरा दिन थालिएको छ ।
यसै गरी प्रधानमन्त्री ओलीलाई मिर्गौला दानगर्ने समीक्षा कोइरालाको पनि स्वास्थ्य स्थिर रहेको र उहाँलाई पनि तरल खाना दिइएको बताइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भुटानका प्रधानमन्त्री, जापानका प्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
चीन, जापान र पाकिस्तानका नेपालस्थित राजदूतले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।