मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपाललाई ७३ रनले पराजित गरेको हो । हङकङमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय १२ रन बनायो ।
दुई सय १३ रनको लक्ष्य पाएको नेपालले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो । नेपालका लागि विनोद भण्डारीले २२ बलमा ४१ रन जोडे ।
कप्तान रोहितकुमार पौडेलले ३० रन र आरिफ शेखले ३८ रन बनाए । यसअघि हङकङका लागि बाबर हयातले अद्र्धशतकीय पारी खेले । उनले ४९ बलमा तीन चौका र १३ छक्काको मद्दतमा एक सय १० रन बनाए ।
यस्तै मार्टिन कोइत्जीले ३१ र अंशी राथले ३९ तथा अजिज खानले अविजित २१ रन बनाए । बलिङतर्फ नेपालका लागि आजैको खेलमा टी–२० क्रिकेटमा डेब्यु गरेका आकाश चन्दले तीन विकेट लिए ।
नेपाल, हङकङ र पपुवा न्यूगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो ।
त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङ्कङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्यूगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।





प्रतिक्रिया राख्नुहोस्