जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सुनसरी, झापा, सिरहा र धनुषामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-१२ रिलायन्सस्थित सडकमा प्रदेश-१-०२- ००१ क ३९७८ नम्बरको ट्रकले प्रदेश -१-०२-०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका-८ बस्ने ३० वर्षीय बिपन दाहाल र मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-६ बस्ने अनोज दाहालको छोरा ६ वर्षीय अवि दाहालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापा, शिवसताक्षी नगरपालिका-१ धरमपुरस्थित सडकमा मे.१ ख २५४७ नम्बरको बसले मे.१० प ७७५८ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-११ बस्ने २५ वर्षीय राहुल थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी हस्पिटल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सिरहा, गोलबजार नगरपालिका-४ धर्मकाँटास्थित सडकमा बा.९ च ६५६६ नम्बरको कारले प्रदेश ०१-००४ प ४९९४ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-८ बस्ने १७ वर्षीय विवेक उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई लाइफ लङ्ग हेल्थकेयर गोलबजार हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता धनुषा, बिदेह नगरपालिका-५ हनुमान मन्दिर नजिक सडकमा माचीबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२-०२-००२ प १००२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हंसपुर नगरपालिका- ५ सुगानिकास बस्ने ३५ वर्षीया रेनु कुमारी मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रदेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.