हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल पपुवा न्यूगिनी (पिएनजी)संग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
फाइनलमा पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटकको क्षतिमा १ सय ७१ रन बनाउँदै नेपाललाई १ सय ७२ रनको लक्ष्य दियो ।
१ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ चल्न नसक्दा १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए । यसअघि ओपनर कुशल भुर्तेल ५ र विनोद भण्डारी ४ रनमा आउट गर्दै पपुवा न्युगिनीले उत्कृष्ट सुरुवात गरेको थियो ।
यसै गरी गुल्शन झा १० बलमा १ चौकासहित ६ रनमा रन आउट भए । कप्तान रोहित पौडेल १२ रनमा र विवेक यादव १ रनमा क्याच आउट भए ।
पपुवा न्युगिनीको जितमा ओपनर टोनी उराले ३७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाए । तल्लोक्रममा नेली नाओले १० बलमा ३ छक्का र १ चौकासहित महत्वपूर्ण ३० रन जोडेका थिए । सेसे बाउ शून्य, असाद भाला र लेगा सियाका २-२ रनमा आउट भएका थिए ।
हिरि हिरि १५, हिला भारे १८, चाद सोपर १३, किप्लिङ डोरिगा १४ रनमा आउट भए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । करण केसी र गुलशन झाले १-१ विकेट लिए ।
नेपाल दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कुशल मल्ल जस्ता पहिलो रोजाईका टी-२० खेलाडी विना नै हङकङ भ्रमण गरेको थियो ।
नेपालले अब दुई सातापछि घरेलु मैदानमा आयरल्यान्ड ए सँग दुई टी-२० खेल खेल्नेछ । त्यसपछि गुजरात र बरोडासँग त्रिकोणात्मक टी-२० आई सिरिज खेल्न भारत जानेछ ।





प्रतिक्रिया राख्नुहोस्