जापान

हिमालयन ईन्टरनेशनल एकाडेमीको विधिवत उदघाटन सम्पन्न

राजधानी टोकियोको पूर्वी क्षेत्र कोईवामा यसै शैक्षिक सत्रबाट पठनपाठन सुरु गरिएको हिमालयन इन्टरनेशनल एकाडेमी विद्यालयको एक समारोहका बीच विधिवत उदघाटन गरिएको छ । टोकियोको एदोगावा शहरको कोईवामा स्थापना गरिएको विद्यालयको शनिबार एक समारोहका बीच उदघाटन गरिएको हो ।

समारोहमा सहभागि अधिकांश वक्ताहरुले अबको विद्यालयले कितावी पढाई भन्दा पनि नैतिक शिक्षा र व्यवहारिक ज्ञान सिकाउनु पर्नेमा जोड दिएका थिए । समारोहमा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले श्रम गर्न आएका नेपालीहरुका बालबालिकालाई परिवारसंगै बसेर शिक्षा लिने वातावरण प्रदान गर्न हिमालयन एकाडेमी अव्वल बन्न शुभकामना दिंदै जापानमा हरेक नेपालीले नेपालीका यस्ता कार्यमा हातेमालो गर्दै अगाडी वढन प्रेरित गर्नुपर्ने बताउनु भयो ।

यस्तै विशेष अतिथिका रुपमा सहभागि एदोगावा नगरपालिकाका काउन्सिलर योगी पुरानिकले दक्षिण एसियाली नागरिकहरुको हरेक कार्यमा आफूले हरेक कार्यमा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाली, भारतीय तथा विदेशीहरुको विशेष घनत्व रहेको एदोगावामा एकले अर्कालाई सहयोग गर्ने भावनामा विकास गर्दै बालबालिकाहरुलाई आधारभूत सिप तथा ज्ञान प्रदान गर्न कुनै कसुर बाँकी नराख्न आग्रह गर्नुभयो ।

सोही समारोहमा मिराई लाईफ ईन्स्योरेन्सका निर्देशक कमल अधिकारीले व्यवहारिक शिक्षा नै अहिलेको आवश्यकता रहेको भन्दै विद्यालयले कितावी ज्ञान भन्दा नैतिक शिक्षामा जोड दिनु सुझाउनु भयो ।

यस्तै एनआरएनए जापानका सल्लाहकार तथा नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकालीले नेपाली समुदायलाई लक्षित गरी सुरु गरिएको विद्यालयले शैक्षिक क्षेत्रमा स्थापित हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

एनआरएनए जापान महिला संयोजक संगीता अधिकारीले हरेक अभिभावकका लागि हिमालयन एकाडेमी विद्यालय सहयोगी बन्दै बालबालिकाको शिक्षामा अव्वल बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक शिशिर गौडेलले विदेशी भूमिमा रहेर शिक्षा प्रदान नै मूल मन्त्र रहेको विद्यालयले सबैको सुझावलाई सिरोधार्य गर्दै व्यवहारिक र नैतिक शिक्षामा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समारोहमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो भने एभरेष्ट ईन्टरेशनल स्कुलका अध्यक्ष तथा एनआरएनए आईसीसी निवर्तमान अध्यक्ष भवन भट्टको भिडियो सन्देश प्रशारण गरिएको थियो । यस्तै भिडियो सन्देशमा विभिन्न क्षेत्रका नेपाली तथा जापानीहरुले पठाउनु भएको सन्देश प्रशारण गरिएको थियो ।

नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली तथा विद्यालय व्यवस्थापन समितिका सदस्य लाके कसजुले पानसमा वत्ती बालेर शुभारम्भ गर्नुभएको कार्यक्रममा समारोहको अध्यक्षता गर्नुभएका राजन रिजालले नेपाली तथा विदेशी समुदायलाई लक्षित गरिएको विद्यालयले गुणस्तरिय शिक्षामा प्रतिवद्ध रहेको दावी गर्नुभयो ।

विद्यालय स्थापना प्रारम्भयता धेरै अभिभावकहरुले भौतिक तथा अन्य रुपमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग आउन थालेको सार्वजानिक गर्दै रिजालले जापानवासी नेपालीको शिर झुक्न नदिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका सुदीप अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा विद्यालयको संचालक समितिका सदस्य सहित शिक्षकशिक्षिका तथा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

उदघाटन समारोहको एक झलकहरू :

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.