जन सरोकार

लकडाउनपछि पशुपति आर्यघाटमा ल्याइने शव घट्नुको कारण यस्तो छ

चैत्र १० गते अघिसम्म पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा गतेयता हाल दैनिक १० देखि १२ शव मात्र ल्याइने गरिएको छ । यस्तो किन भयो ? यो प्रश्नमाथि धेरैले आआफ्नै किसिमले विश्लेषण गरे र एउटा विश्लेषण के पनि रह्यो भने अहिले अस्पतालहरु पनि बन्द रहेका कारण बिरामीको मृत्यु पनि घटेको हो कि ?

तर त्यस्तो सोच्नु पूर्णतः गलत पनि हैन र सत्य पनि हैन । खासमा मानिसहरु आआफ्नै घर गएको, लकडाउनपछि उपत्यकाका ग्रामीण क्षेत्रमा दिवंगतहरुको दाहसंस्कार आफ्नै क्षेत्रमा गर्न थालेकाले हो भन्ने अनुमान पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको छ ।

लकडाउनका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट शव आउन बन्द भएको र सडक दुर्घटनासमेत घटेकाले कम शव आएको हुनसक्ने कोषले जनाएको छ । देश विदेशबाट हुने उडान हाल बन्द छ । विदेशमा काम गर्न गएका नेपालीको शव आउने क्रम पनि रोकिएको हो ।

यातायात सहज नभएपछि उपत्यकाको काँठ क्षेत्रबाट पनि पशुपतिमा शव आउन रोकिएको छ । यातायात सहज भएका बेला काँठ क्षेत्रका मानिसले पनि पशुपतिमा शव जलाउन ल्याउँथे । यातायात नभएपछि मलामी आवतजावत गर्न समस्या हुने भएकाले काँठ क्षेत्रमै रहेका घाटमा शवदाह हुन थालेको हो ।

पशुपतिमा शव लैजाँदा ब्रह्मनालमा पशुपतिनाथलाई स्नान गरेको जलले स्नान गराउन पाइने भएकाले पनि मृतकका आफन्तले आर्यघाट लैजान्छन् । पशुपतिमा दाउराबाट र विद्युतीय दुवै विधिबाट शवदाहको सेवा उपलब्ध छ । विद्युतीय शवदाहतिर पनि बन्दाबन्दी अघिभन्दा शव घटेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो ।

विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको रु एक हजार ५०० शुल्क लाग्छ । यसैगरी आर्यघाटमा रु एक हजार ९०० शुल्क लाग्छ । दाउरा भने आवश्यकताअनुसार लाग्ने गर्छ । दाउरा किलोको रु नौमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताउनुभयो ।

पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु २० लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने (लोड अनलोड) को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन)ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुखसमेत रहनुभएका निर्देशक रेग्मीले जानकारी दिनुभयो ।

यो सुविधा अन्यत्रका घाट सेवामा नभएकाले पनि पशुपतिमा शव बढी आउँथे । अन्यत्र शवदाह गर्दा मृतकका आफन्तले नै दाउराको व्यवस्था गर्नुपर्छ । पशुपतिमा शव जलाइदिने कर्मचारी र ब्राह्मणको व्यवस्था पनि अन्यत्रभन्दा सहज छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाल बन्दाबन्दी शुरु भएपछि उपत्यकामा दुर्घटनाबाट मर्नेको क्रम रोकिएको बताउनुहुन्छ । त्यसअघि दैनिक एक जना मानिस उपत्यकामा दुर्घटनामा परी मर्ने गरेको तथ्याङ्क महाशाखासँग छ ।

बन्दाबन्दी शुरु भएसँगै पशुपतिको घाट सेवामा कार्यरत कर्मचारीले सुरक्षा सामग्री नभएकाले शवदाह नगर्ने भन्दै विरोध जनाएका थिए । यसपछि मृतकका आफन्तले नै शवदाह गरेका थिए । बन्दाबन्दीका अवसरमा बेखर्चीले शवदाह गर्न चाहेमा निःशुल्क सेवा दिने घोषणा यसअघि नै कोषले गरिसकेको छ ।

पशुपतिमा निःशुल्क भोजन जारी

मजदूर, श्रमिक, विपन्न वर्ग एवं पशुपति क्षेत्र वरपर भक्तजनको आशमा जीवनयापन गरिरहेकालाई शुरु गरिएको निःशुल्क भोजन जारी छ । चैत १६ गतेदेखि पशुपतिस्थित सुमार्गी भवनमा शुरु गरिएको निःशुल्क भोजनमा दैनिक ५०० लाई खाना खुवाउने गरिएको कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । पशुपतिनाथ सबै अनाथका नाथ भएकाले बन्दाबन्दी जारी रहेसम्म विपन्न सबैलाई भोजन गराइने कोषले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.