कप्तान विनोद भण्डारीको शतकको सहयोगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेटमा सानदार जित हात पारेको छ । बिहीबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
जनकपुरको राम जानकी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३८.१ ओभरमा १ सय ५० रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले ६० बलमा ३ चौका र ५ छक्का प्रहार ६३ रनको अर्धशतकीय पारी खेले अभिषेक पाल २४ र खडक बोहोरा १३ रन जोडे । आर्मीका लागि बसिर अहमदले पाँच विकेट लिए भने नरेन साउद र शाहब आलमले समान दुइ-दुई विकेट लिँदा आकाश चन्दको भागमा एक विकेट रह्यो ।
सुदूरपश्चिमले दिएको १ स ५१ रनको सामान्य लक्ष्य आर्मीले २०.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।आर्मीको लागि कप्तान विनोद भण्डारीले ७५ बलमा १२ चौका र ५ छक्का प्रहार गर्दै १०० रनको शतकीय पारी खेले भने कुशल मल्लले १८ बलमा २ चौका र २ छक्का सहित २६ रनमा अविजित रहँदा भीम सार्की १६ रन जोडे ।
सुदूरपश्चिमका लागि शेर मल्लले दुई विकेट लिए भने मिलन बोहोराको भागमा १ विकेट रह्यो । प्रधानमन्त्री कपको इतिहासमा विनोदको यो चौथो शतक हो । यस शतकसँगै विनोद पिएम कपमा सर्वाधिक धेरै पटक शतक बनाउँने खेलाडी बनेका छन् ।
यस शतकसँगै विनोदले पिएम कपको इतिहासमा ५९ खेल खेल्दै १ हजार ६३३ रन बनाएका छन् । उनलाई तीन शतक प्रहार गरेका एपिएफका आसिफ शेखले पछ्याई रहेका छन् । विनोदको शतक राम जानकी क्रिकेट मैदानमा पिएम कपमा बनेको यो पहिलो शतक हो ।
जारी प्रतियोगितामा यो सातौं शतक हो । यसअघि आर्मीका अर्जुन साउद र बसिर अहमद, पुलिसका शंकर राना, एपिएफका आसिफ शेख, गण्डकीका अर्जुन कुमाल, लुम्बिनीका रञ्जित खड्काले शतक प्रहार गरेका थिए ।
जितसंगै आर्मी सात खेलमा १३ अंकका साथ शीर्ष स्थानमा छ भने आठ खेलमा १२ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्