इन्डियन प्रिमियर लिग(आइपिएल) २०२६ मा लखनउ सुपर जायन्ट्सले जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा लखनउले कोलकाता नाइट राइडर्समाथि ३ विकेटको जित हासिल गरेको हो ।
कोलकाताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा लखनउले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । कोलकाताका लागि अंगकृष रघुवंशीले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४५ रन बनाए भने कप्तान अजिक्या राहाणे ४१ रन जोडे ।
त्यस्तै रोभमन पावेल ३९ र क्यामरन ग्रीन ३२ रनमा अविजित रहे । लखनउका लागि प्रिन्स यादव, मोहम्मद सामी, दिगवेश राठी र मनिमरन सिद्धार्थले समान एक-एक विकेट लिए । कोलकाताले दिएको १ सय ८२ रनको लक्ष्य लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
लखनउका लागि मुकुल चौधरी २७ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले भने आयुष बदोनीले ३४ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै एडेन मारक्रमले २२ रन जोड्दा निकोलस पुरनले १३ रन बनाए । कोलकाताका लागि वैभब अरोरा र अनुकुल रोयले समान दुई -दुई विकेट लिए भने सुनिल नारायण, कात्तिक त्यागी र क्यामरुन ग्रिनको भागमा समान एक-एक विकेट रह्यो ।
जितसंगै लखनउ तीन खेलमा चार अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने समान खेलमा अंकविहिन कोलकता पुछारबाट दोस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति नेपाली समय अनुसार पौने आठ बजे राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्