इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई छ विकेटले पराजित गर्दै राजस्थानले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । बेंगलुरु लागि कप्तान रजत पाटिदारले ४० बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकीय पारी खेले भने विराट कोहलीले १६ बलमा ६ चौकको सहयोगमा ३२ रन बनाए ।
त्यस्तै बेंकाटेश अय्यर २९ रनमा अविजित रहँदा रोमारियो सेफर्डले २२, देवदत पाडिकलले १४ र टिम डेभिडले १३ रन बनाए । राजस्थानको लागि जोफ्रा आर्चर, रवि विश्न्वाई र बृजेश शर्माले समान दुई-दुई विकेट लिए भने सन्दीप शर्मा र रविन्द्र जडेजाको भागमा समान एक-एक विकेट रह्यो । बेंगलुरुले दिएको २ सय २ रनको लक्ष्य राजस्थानले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानका लागि ध्रुव जुरेलले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहँदै ८१ रनको अर्धशतकीय पारी खेले भने वैभव सुर्यवंशीले २६ बलमा ८ चौका र ७ छक्काको मद्दतमा ७८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै रविन्द्र जडेजाले २४ रनमा अविजित रहँदा यसस्वी जैसवालले १३ रन बनाए । बेंगलुरुको लागि जोस हेजलउड र क्रुनाल पाण्डेयको भागमा समान दुई-दुई विकेट रह्यो ।
जितसंगै राजस्थान चार खेलमा आठ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने तीन खेलमा चार अंक जोडेको बेंगलुरु तेस्रो स्थानमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्