हावामा गोली चलाएर समातियो खैरो हेरोइन कारोबारी
मोरङ प्रहरीले हावामा गोली चलाएर ठूलो परिमाणमा खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । समाचार अनुसार सोमबार राति जिल्लाको रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा २१ वर्षीय मोहम्मद आविद मियाँलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार भारतबाट नेपालतर्फ लागुऔषध भित्रिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले मियाँलाई घेराउ गरेको थियो ।
भारतीय नम्बर प्लेटको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकलमा सवार मियाँले प्रहरी टोलीलाई देख्नासाथ भाग्ने प्रयास गरेका थिए । उनलाई रोक्न र नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बूले आफ्नो पेस्तोलबाट दुई राउण्ड हवाई फायर गर्नुभएको थियो ।
प्रहरीको फायरपछि रोकिएका मियाँको खानतलासी गर्दा ४७५ ग्राम ८२० मिलिग्राम -करिब आधा किलो० खैरो हेरोइन बरामद भएको एसपी कट्वालले जानकारी दिनुभयो । बरामद गरिएको लागुऔषधको परिमाण र बजार मूल्य निकै उच्च रहेको बताइएको छ ।
पक्राउ परेका मियाँलाई हाल इलाका प्रहरी कार्यालय सिजुवामा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध तस्करी नियन्त्रण गर्न प्रहरीले पछिल्लो समय सक्रियता र कडाइ बढाएको छ ।





प्रतिक्रिया राख्नुहोस्