अक्सिजनको माग तेब्बर बढी, भारततर्फ कालोबजारीको आशंका, सिलिण्डरलाई भन्सार छुट
नेपालमा कोरोना संक्रमितको संख्याले उकालो चढदै गर्दा उपचारका लागि अत्यावश्यक अक्सिजनको अभावको संकेत देखिएको छ । अघिल्लो वर्षको तुलनाममा संक्रमितको सख्या कम देखिए पनि अस्पतालहरु भरिभराउ हुनु र भारतमा अक्सिजनको चरम अभाव देखिएपछि यसको असर नेपालमा पनि परेको छ ।
भारतमा अक्सिजन अभावले बिरामीहरुको मृत्यु बढिरहेको र नेपालबाट अक्सिजन भारततिर कालोबजारी भएको आशंका व्यक्र भैरहेका बेला नेपालमा अक्सिजन अभाव हुन नदिन सिलिण्डरमा भन्सार छुट गरिएको छ । अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् । छिमेकी देशमा अक्सिजनको अभाव भएपछि नेपालमा कृत्रिम अभाव पनि सिर्जना भएको छ ।
नियमित अक्सिजन लिनुपर्नेहरुले घरमा स्टक राख्न थालेका छन् । नेपालमा अक्सिजन अभाव छैन, समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् । तर त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको व्यवसायीहरूको भनाइ छ ।
पछिल्लो समय अक्सिजनको माग तेब्बर पुगेको छ । भारतका कोभिडसम्बद्ध समाचार प्रभाव र अक्सिजन अभाव हुने अनुमानले कोभिडको शंका लागेर अक्सिजन लिन आउने गरेको उनीहरूको भनाइ छ ।
अक्सिजनको अभाव हुन नदिन सरकारले अक्सिजन सिलिन्डर आयातमा लाग्ने भन्सार महसुल छुट दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिन्डरमा लाग्दै आएको भन्सार महसुल पूरै छुट दिने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो ।
संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले सिलिन्डर आयात, खरिदको संख्या बढाउनुपर्ने उद्योगीहरूको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई कृत्रिम अक्सिजन दिनुपर्छ । तर उद्योगबाट रिफिल गरेर पठाउन आफूहरूलाई सिलिन्डरकै समस्या रहेको उद्योगीहरूको गुनासो छ ।
नेपाल अक्सिजन ग्यास उत्पादक संघका अनुसार अक्सिजन सिलिन्डर नेपालमा बन्दैनन् । चीन र भारतबाटै आयात गर्नुपर्छ । पछिल्लो समय भारतमा कोभिडका बिरामी धेरै भएकाले समस्या छ । आधिकारिक रूपमा आग्रह गरे पनि भारतबाट आयात हुने सम्भावना कम छ । चीनबाट ल्याउन सकिन्छ, त्यसका लागि सरकारले पहल गर्नुपर्ने उद्योगीहरूको भनाइ छ ।
एभरेस्ट अक्सिजनका सञ्चालक शिवप्रसाद घिमिरेले अक्सिजन पर्याप्त भए पनि सिलिन्डरको अभाव रहेको प्रष्ट पार्दै अक्सिजन सिलिन्डर अस्पताल, उद्योग र दमका बिरामीले लगेका हुन्छन्, भइरहेका उद्योग ६० प्रतिशत मात्रै चलेका छन् । सिलिन्डर भए जति पनि अक्सिजन दिन सकिन्छ ।
नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार उपत्यकामा अक्सिजनका ८ वटा उद्योग छन् भने उपत्यकाबाहिर १८ उद्योगले उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ४० प्रतिशत अक्सिजन औद्योगिक क्षेत्रले प्रयोग गरिरहेका छन् ।
बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले दैनिक ६ हजार सिलिन्डरको माग गरिरहेको शारडाले जानकारी दिनुभयो । तर उद्योगीसँग दैनिक ८ हजार सिलिन्डर उत्पादन गर्ने क्षमता रहेको उहाँको छ । सरकारले सिलिन्डरको व्यवस्था गरे उत्पादन थप बढाउन सकिन्छ ।
संक्रमितको संख्यालाई दृष्टिगत गरी संघले एक साताअघि स्वास्थ्य मन्त्रालयसँग पनि छलफल गरेको थियो । त्यस क्रममा २० देखि ४० हजार सिलिन्डर ल्याउन सहयोग मागेको थियो । उद्योगीहरूले आयात गर्दा भन्सार दरमा सहुलियत दिन पनि आग्रह गरेका थिए । सरकारले १५ प्रतिशत भन्सार शुल्क, ५ प्रतिशत अन्तःशुल्क र भ्याट तोकेको छ । सरकारबाट सहयोग नहुँदा उपत्यकाबाहिर ४ र उपत्यकामा ३ उद्योग बन्द छन् । संघका अनुसार २० हजार सिलिन्डर भनेको एक सय ट्रक हो । उक्त ट्रक केरुङ हुँदै आयात गर्दा ४५ देखि ६० दिनमा नेपाल आइपुग्छ ।
प्रतिक्रिया राख्नुहोस्