कृषि

अनुकरणीय बन्दै आचार्यको व्यावसायिक कृषिकर्म

रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ नै केही गर्न सकिन्छ भन्ने पोखरा महानगरपालिका–३३ भरतपोखरीका युवा रमेश आचार्य यतिखेर अन्यका लागि पनि अनुकरणीय बन्नुभएको छ । स्नातकसम्म्को अध्ययन गर्नुभएको उहाँ आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिक समेतका अनुभव सगाल्दै अहिले भने व्यावसायिक कृषिमा निरन्तर क्रियाशील बन्नुभएको हो । विगत चार वर्षअघि तिखे ढुङ्गा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषिमा लाग्नुभएका आचार्यले पोखरा महानगरपालिका–३३ स्थित सुरौदी खोला तिखे ढुङ्गामा पशुपालनसँगै व्यावसायिक रुपमा तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आउनुभएको छ ।

आचार्यको व्यावसायिक कृषिकर्म

आफ्नो् फर्म अन्तर्गत हाल लगभग २० रोपनी क्षेत्रफलमा मकै खेती, दुई रोपनी क्षेत्रफलमा खरबुजा, काँक्रो, लसुन, प्याज आदिको खेतीसँगै २० वटा भैँसीपालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।“फर्ममार्फत बहुउद्देश्यीय रुपमा पशुपालन तथा अन्य कृषिजन्य उत्पादन गरिरहेको छु”, उहाँले भन्नुभयो, “मैले गतवर्ष मात्रै १५ वटा लैना भैँसी बिक्री गरेको थिएँ ।” उहाँले गतवर्ष प्रति लैनो भैँसी लगभग ९५९६ हजार सम्ममा बिक्री गर्नुभएको थियो । व्यावसायिक कृषिमा लाग्ने हो भने जो कोहीले सामान्य रुपमा पनि मासिक ५०-६० हजारसम्मको आम्दानीका लागि विदेशिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

व्यावसायिक कृषिमा नयाँ नयाँ प्रयोग गर्न रुचाउने आचार्यले दुई रोपनी क्षेत्रफलमा लगाउनुभएको खरबुजा अब उत्पादन दिने क्रममा छ । अघिल्लो वर्ष परीक्षणस्वरुप १५-२० बोट लगाएका उहाँले त्यसकै अनुभवका आधारमा अहिले लगाएको खरबुजाले राम्रो उत्पादन दिने विश्वास व्यक्त गर्नुभयो । सुरौदी फाँटमा व्यावसायिक कृषिको राम्रो सम्भावना रहेको बताउँदै उहाँले हाल परीक्षणका रुपमा लगाएको लसुन तथा प्याज पनि राम्रो फलेको अनुभव सुनाउनुभयो । आचार्यको व्यावसायिक कृषिको लगावमा परिवारको पनि राम्रो साथ र सहयोग छ ।

उहाँलाई श्रीमती धनलक्ष्मी तथा स्नातक तहमा अध्ययन गरिहेका छोराछोरीले पनि साथ दिइरहेका छन् । सुरौदी फाँटमा व्यावसायिक कृषिको धेरै सम्भावना भएर पनि यसतर्फ अन्यलाई आकर्षित गर्न भने अझै नसकिएको उहाँको बुझाइ छ । राष्ट्रव्यापी ठूलो समस्याका रुपमा देखिएको बाँदरको समस्या सुरौदीमा पनि रहेको बताउँदै उहाँले वरपरका सबै मिलेर पालो लगाएर बाँदर कुर्नुपरेको दुःखेसो गर्नुभयो । थप दुई चार जना व्यवसायिक खेती गर्ने साथी भएमा मिलेर धेरै उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

बजारीकरणमा खासै समस्या छैन
उत्पादन गर्न सकेमा यहाँ उत्पादित कृषिजन्य वस्तुको बजार समस्या नरहेको आचार्यले बताउनुभयो । आफ्नो फर्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको उल्लेख गर्दै उहाँले सुरौदीसम्म जाने बाटोलाई थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पुर्याउन सहज हुने धारणा राख्नुभयो ।

सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताउनुहुन्छ । व्यवस्थित गर्न सकेमात्रै पनि यहाँका उपलब्ध पानीका स्रोतलाई उत्पादनसँग जोड्न सकिने उहाँले बताउनुुभयो । सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा पर्दै गएका छन् ।

कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरेपछि जलाधार संरक्षणको प्रयास थालिए पनि त्यसले अपेक्षित गति लिन भने नसकेको स्थानीयको गुनासो छ । जलाधारको संरक्षण र उपयोग गर्नसके स्याङ्जाको प्यूरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहँुको घारी बगरसम्मका खेतीयोग्य भू–भाग खोलाको पानीले सिँचाइ गर्न सकिनुका साथै माछापालन आदिबाट पनि आम्दानी गर्न सकिने किसान बताउँछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.