जन सरोकार

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छ : महानिरीक्षक पौडेल

नेपाल पूर्वसशस्त्र प्रहरी सङ्घले शनिबार एक समारोहकाबीच सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई आज बधाई तथा शुभकामना प्रदान गरेको छ ।

नेपाल पूर्वसशस्त्र प्रहरी सङ्घका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सङ्घकोतर्फबाट बधाई तथा शुभकामना प्रदान गर्नुभएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपाल र पूर्वसशस्त्र प्रहरी सङ्घबीचको सम्बन्ध केबल औपचारिक मात्र नभई अनुभव र ऊर्जाको इतिहास र वर्तमान, समर्पण र निरन्तरताका सम्बन्ध रहेको बताउनुहुँदै बहालवाला सङ्गठन र पूर्वसङ्गठनबीचको सम्बन्ध जति बलियो हुन्छ सङ्गठनको संस्थागत स्मृति, क्षमता र विश्वसनियता पनि त्यति नै सुदृढ हुँदै जानेसमेत उल्लेख गर्नुभयो ।

महानिरीक्षक पौडेलले भन्नुभयो, “आज सङ्गठनले प्राप्त गरेको प्रतिष्ठा, जनविश्वास र संस्थागत पहिचान सहजै निर्माण भएको होइन यसको पछाडि अग्रजहरुको त्याग, बलिदान, सङ्घर्ष, समर्पण र व्यावसायिकताको लामो इतिहास जोडिएको छ त्यो इतिहासलाई भविष्य निर्माणको प्रेरणाको रुपमा ग्रहण गर्नुपर्दछ ।”

उहाँले सङ्गठनको हित र छविसँग सम्बन्धित विषयमा पूर्वसङ्घको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुहुँदै सङ्गठनको हित, मनोबल र दीर्घकालीन प्रभावसँग सम्बन्धित विषयमा पूर्वसङ्घ सक्रिय हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले सङ्गठनमा विगतदेखि नै प्रत्येक नेतृत्वले उल्लेख्य कार्य गर्दैै आइरहेको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको कार्यकालमा सङ्गठनले आफ्ना विभिन्न क्षेत्रमा थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वसशस्त्र प्रहरी सङ्घका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सङ्गठनमा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्नुहुँदै यससँगै वृत्तिविकासको प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा महानिरीक्षक पौडेललाई अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकलगायत अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.