बिचारबिशेष

परम्परागत राजनीतिक सिद्धान्तभन्दा पर समसामयिक जनआवश्यकतामुखी रास्वपाको कार्यदिशा

स्थापित पुराना राजनीतिक दलका नेताहरुले नीति के हो, विचार के हो, सिद्धान्त के हो भन्दै प्रश्न उठाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)ले आवश्यकता र परिणाममा आधारित मिश्रित दृष्टिकोण अवलम्बन गर्ने नीति लिएको छ ।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा रास्वपा सभापति रवि लामिछानेले प्रस्तुत गरेको २३ पृष्ठे राजनीतिक प्रतिवेदनको निष्कर्षमा आयातित सिद्धान्तभन्दा मुलुकको आवश्यकतालाई नै प्रमुख नीति ठहर गरिएको छ । यसले नेपाली राजनीतिमा नयाँ वैचारिक बहसको प्रारम्भ गरेको छ ।

पार्टी स्थापनाको चार वर्षमै व्यापक जनसमर्थन प्राप्त गरेको रास्वपाले आफ्नो राजनीतिक यात्रालाई केवल सत्ता प्राप्तिको अभियानका रूपमा होइन, विद्यमान राजनीतिक संस्कृतिको विकल्प निर्माण गर्ने प्रयासका रूपमा चित्रित गरेको छ ।

प्रतिवेदनले मुलुकको वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै परम्परागत दलहरूमा देखिएको सत्ता केन्द्रित राजनीति, भ्रष्टाचार, जवाफदेहिताको अभाव, अवसरवाद र विचौलियाको प्रभावलाई नयाँ राजनीतिक शक्तिको उदयको मुख्य कारणका रूपमा प्रस्तुत गरेको छ ।

प्रतिवेदनको मूल सन्देश के हो भने लोकतान्त्रिक संरचना कायम रहे पनि त्यसको सञ्चालन सीमित नेतृत्व, शक्ति समूह र स्वार्थकेन्द्रित संरचनाले नियन्त्रण गरिरहेको छ । यही अवस्थाबाट जनतामा गहिरो निराशा र वैकल्पिक राजनीतिको आकांक्षा जन्मिएको प्रतिवेदनको निष्कर्ष छ ।

वैकल्पिक राजनीतिको उदय

रास्वपाले पार्टी गठनको छोटो अवधिमै उल्लेखनीय जनमत प्राप्त गर्नु नेपाली समाजमा देखिएको राजनीतिक परिवर्तनको चाहनाको परिणाम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

परम्परागत दलप्रतिको असन्तोष, स्वतन्त्र राजनीतिक व्यक्तित्वहरूको उदय तथा युवा पुस्ताको सक्रियताले नयाँ राजनीतिक शक्तिका लागि आधार तयार गरेको विश्लेषण गरिएको छ ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको विजयलाई प्रतिवेदनले राजनीतिक सन्देशका रूपमा व्याख्या गरेको छ । यसले परम्परागत दलहरूको एकाधिकार चुनौतीमा परेको र मतदाता नयाँ विकल्प परीक्षण गर्न तयार भएको संकेत गरेको छ ।

विगतका संघर्षप्रति सम्मान, भविष्यप्रति प्रतिबद्धता

प्रतिवेदनको उल्लेखनीय पक्ष भनेको नेपालको लोकतान्त्रिक आन्दोलन, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति, दलित, महिला तथा समावेशी अधिकारका आन्दोलनहरूको योगदानप्रति सम्मान प्रकट गर्नु हो ।

यसले रास्वपालाई विगतका राजनीतिक उपलब्धिको अस्वीकारकर्ता नभई तिनको जगमा नयाँ राजनीतिक संस्कृति निर्माण गर्न खोज्ने शक्तिका रूपमा प्रस्तुत गरेको छ ।

यो दृष्टिकोण परम्परागत दलहरूजस्तो आफ्नो मात्रै संघर्षलाई वैध ठहर गर्ने प्रवृत्तिभन्दा भिन्न देखिन्छ । प्रतिवेदनले इतिहासका सबै आन्दोलनबाट प्राप्त उपलब्धिलाई साझा राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार गरेको छ ।

परम्परागत विचारधाराभन्दा फरक दृष्टिकोण

प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण पक्ष यसको वैचारिक कार्यदिशा हो । रास्वपाले आफूलाई न त परम्परागत वामपन्थी र न दक्षिणपन्थी धारमा सीमित गरेको छ । बरु ‘सामाजिक लोकतन्त्र’लाई आधार मानेर परिस्थिति, आवश्यकता र परिणाममा आधारित मिश्रित दृष्टिकोण अवलम्बन गर्ने नीति लिएको छ ।

यो दृष्टिकोणले शास्त्रीय राजनीतिक दर्शनको कठोर सीमाभन्दा बाहिर निस्कने प्रयास गरेको देखिन्छ । प्रतिस्पर्धात्मक बजार अर्थतन्त्र, निजी क्षेत्रको प्रोत्साहन, लगानीमैत्री वातावरण, विधिको शासन, जनउत्तरदायी सरकार तथा आधारभूत शिक्षा–स्वास्थ्यमा राज्यको दायित्व जस्ता अवधारणालाई एकैसाथ अघि सारिएको छ ।

यस अर्थमा रास्वपाको राजनीतिक दृष्टिकोण वैचारिक कठोरताभन्दा व्यावहारिकता, परिणाममुखी शासन र जनअपेक्षामा आधारित देखिन्छ । बदलिँदो विश्व, सूचना–प्रविधिको विस्तार, युवा पुस्ताको आकांक्षा तथा सुशासनको मागलाई सम्बोधन गर्ने प्रयास प्रतिवेदनमा स्पष्ट देखिन्छ ।

रास्वपाको ‘हामी आँखा जचाएर चस्मा बनाउनुपर्छ, चस्माअनुसार आँखा होइन’ भन्ने अवधारणाले पनि सिद्धान्तलाई स्थिर सत्यका रूपमा नभई परिस्थितिअनुकूल नीति निर्माणको आधार मान्ने सोचलाई प्रतिबिम्बित गर्छ ।

समसामयिक जनआवश्यकतामुखी राजनीति

परम्परागत राजनीतिक दलहरू प्रायः वाम–दक्षिण ध्रुवीकरण, वर्गीय विमर्श वा वैचारिक ध्रुवीकरणमा केन्द्रित रहँदा रास्वपाले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता, सेवा प्रवाह, अवसरको समान पहुँच र संस्थागत सुधारलाई केन्द्रमा राखेको छ ।

यसले वर्तमान नेपाली समाजको वास्तविक आवश्यकता—रोजगारी, गुणस्तरीय सार्वजनिक सेवा, राज्यप्रतिको विश्वास पुनर्स्थापना र प्रभावकारी शासनलाई प्राथमिकतामा राखेको देखिन्छ । विशेषगरी युवा पुस्ताको आकांक्षा, प्रविधिमैत्री शासन प्रणाली र परिणाममुखी प्रशासनको आवश्यकता प्रतिवेदनमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रतिबिम्बित भएको छ ।

प्रतिस्पर्धा, शत्रुता होइन

रास्वपाले प्रस्तुत गरेको अर्को महत्वपूर्ण राजनीतिक सन्देश भनेको ‘राजनीतिमा स्थायी शत्रु हुँदैन’ भन्ने अवधारणा हो । अन्य दललाई वैचारिक प्रतिस्पर्धीका रूपमा स्वीकार गर्ने तथा राष्ट्र निर्माणका सवालमा सहकार्यको सम्भावना खुला राख्ने नीति नेपाली राजनीतिमा अपेक्षाकृत नयाँ अभ्यासका रूपमा देखिएको छ ।

विगतमा प्रचलित मित्र–शत्रु केन्द्रित राजनीतिक संस्कृतिभन्दा माथि उठेर स्वस्थ प्रतिस्पर्धा र सहकार्यको संस्कृति विकास गर्नुपर्ने प्रतिवेदनको आग्रहले लोकतान्त्रिक परिपक्वताको संकेत गर्दछ ।

प्रतिवेदनले रास्वपालाई परम्परागत राजनीतिक विचारधाराको कठोर सीमाभन्दा माथी उठेर जनताको समसामयिक आवश्यकता, सुशासन, संस्थागत सुधार, उत्तरदायित्व र परिणाममुखी शासनलाई प्राथमिकता दिंदै जनकेन्द्रित, व्यवहारिक र समन्वयात्मक राजनीतिको खोजी गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.