वैशाखभित्रै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख महिनाभित्रै गर्ने लक्ष्यका साथ अबको दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
नयाँ सरकार गठन भएसंगै परीक्षा सकिएको १५ दिनभित्र नतिजा सार्वजनिक गर्ने बताइए पनि एक महिनाभित्र नतिजा सार्वजनिक गर्न लागिएको हो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिकको नजिक आइपुगेको र पर्सिसम्म आउँने बताउँदै यतिबेला बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको जानकारी दिनुभएको छ ।
सरकारको निर्देशन अनुसार यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो । रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेको परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो । परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण भयो । आइटीले काम सकेपछि बोर्ड बैठक बोलाउने तयारी छ । बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ ।’
एसईई परीक्षा गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो । यस वर्ष परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।
जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।





प्रतिक्रिया राख्नुहोस्