भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत आइतबारको खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु विजयी भएका छन् । चेन्नई र बेंगलुरु विजयी भएसंगै लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स प्रतियोगिताबाट बाहिरिएका छन् ।
आइतबार भएको दिनको पहिलो खेलमा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको हो । चेन्नईको घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।
लखनउका लागि जोस इङ्लिसले ३३ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै ८५ रनको अर्धशतकीय पारी खेले भने शाहबाज अहमद ४३ रनमा अविजित रहे । त्यस्तै हिम्मत सिंहले १७ रन जोड्दा अक्शेत रघुवंशीले १८ र कप्तान रिषभ पन्तले १५ रन बनाए । चेन्नईका लागि जेमी ओभरर्टनले तीन विकेट लिए भने अन्शुल कम्बोजले दुई विकेट लिंदा नुर अहमदको भागमा एक विकेट रह्यो ।
लखनउले दिएको २ सय ४ रनको लक्ष्य चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको लागि उर्विल पटेलले २३ बलमा २ चौका र ८ छक्का प्रहार गर्दै ६५ रनको अर्धशतकीय इनिङ खेले भने कप्तान रितुराज गायकवाडले २८ बलमा ४२ रन बनाए । यस्तै सञ्जु स्यामसलेन १४ बलमा २८ रन जोड्दा कार्तिक शर्माले २०, डेवाल्ड ब्रेभिस १० रन तथा प्रशान्त विर १७ र शिभम दुवे १५ रनमा अविजित रहे । लखनउका लागि दिगवेश राठी र शाहबाज अहमदले समान दुई-दुई विकेट लिए भने आवेस खानको भागमा एक विकेट रह्यो ।
चेन्नईसँग पराजित भएसँगै लखनउ यस संस्करणको आइपिएलबाट बाहिरिने पहिलो टोली बनेको छ । जितसंगै ११ खेलमा १२ अंक जोडेको चेन्नईको सुपर ४ मा पुग्ने सम्भावना कायमै राखेको छ भने समान खेलमा ६ अंक जोडेको लखनउ प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैगरी आइतबार नै भएको दिनको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।
बेंगलुरुको घरेलु मैदान रायपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले ४२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय पारी खेले भने नमन धिरले ४७ रन बनाए । त्यस्तै रोहित शर्माले २२ रन जोड्दा विल ज्याक्सले १० र अङ्गद बावाले १६ रन बनाए ।
बेंगलुरुका लागि भुवनेश्वर कुमारले चार विकेट लिए भने जोश हेजलवुड, रशिक सलाम र रोमारियो शेफर्डको भागमा समान एक-एक विकेट रह्यो । मुम्बईले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
बेंगलुरुका लागि कुर्नाल पाण्ड्याले ४६ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ७३ रनको अर्धशतकीय पारी खेले भने ज्याकोब बेथहेलले २७ रन बनाए । यस्तै देवदत्त पड्डीकलले १२ रन जोड्दा जितेश शर्माले १८ रन बनाए । मुम्बईका लागि केर्बिन बोसले चार विकेट लिए भने दिपक चाहरले दुई विकेट लिंदा अल्लाह गजान्फर र राज अङ्गद बावाको भागमा समान एक-एक विकेट रह्यो ।
बेंगलुरुसंग पराजित भएसंगै मुम्बई जारी संस्करणको आइपिएलबाट बाहिरिएको छ । जितपछि बेंगलुरु ११ खेलमा १४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको समान खेलमाछ अंक जोडेको मुम्बई नवौ स्थानमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्