अर्थ

लकडाउनमा डिजिटल कारोवार बढ्दो

पछिल्लो समय नेपालमा अनलाइन तथा डिजिटल प्रविधिमार्फत कारोवार गर्नेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्कटसँगै सरकारले गरिरहेको लकडाउनका कारण प्रयोगकर्ता बढिरहेका छन् भने डिजिटल कारोवारमा बढोत्तरी भएको छ ।

पूर्व बैंकर एवम् विज्ञ अनलराज भट्टरार्ईले अब बैंकिङ प्रणाली ओपन बैंकिङ सिस्टममा जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले क्लिक अवेको समय हो, यसकारण राष्ट्र बैंकले कानूनी प्रावधानलाई समेत परिमार्जन गर्दै डिजिटल फर्मल सिस्टमको विकास गरिनुपर्दछ ।” नेपाल बैंकका आइटी प्रमुख सुरेश कर्ण नेपाल सरकार र राष्ट्र बैंकले नयाँ खोज र प्रविधिमा लगानी बढाउँदै यसको प्रवद्र्धन गरिनुपर्ने बताउनुहुन्छ । कर्णले भन्नुभयो, “हामी विश्वमा आइरहेको प्रविधिलाई अवलोकन गर्दै बृहद् तथा सुरक्षित प्रविधिको प्रयोगतर्फ अघि बढ्नुपर्दछ ।”

एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल प्रविधिको प्रयोगमा हामी अझै सङ्कुचित भएको भन्दै राष्ट्र बैंक अभिभावक जस्तो भएर आवश्यकता र प्रविधिको समायोजनमा जोड दिनुपर्ने बताउनुहुन्छ । डिजिटल पेमेन्टको इकोसिस्टम र पूर्वाधार विकासमा धेरै काम गर्नुपर्ने बताउँदै ढकालले सबै सेवा प्रदायकलाई समान व्यवहार गर्नुपर्ने सुझाव दिनुभयो ।

आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल डिजिटल कारोवारलाई प्रवद्र्धन गर्न अनिवार्यता नै लागू गर्नुपर्ने बताउनुहन्छ । राष्ट्र बैंकलाई सुझाव दिँदै ढकालले भन्नुभयो, “सेवा प्रवाहको प्रणालीलाई छरितो बनाउँदै एउटै इकोसिस्टममा चल्ने वातावरण बनाउनुपर्दछ ।”

यसैगरी राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सिइओ कविराज अधिकारी सरकारले नीति तथा कार्यक्रममा ल्याएको योजना क्रान्तिकारी भएको भन्दै यसका लागि योजनाबद्ध काम गरिनुपर्नेमा जोड दिनुहुन्छ । केही समयअघि नेपाल टेलिकमसँगको सहकार्यमा विकास गर्न खोजिएको ‘पेमेन्ट सिस्टम’का लागि राष्ट्र बंैकले सहजीकरण गरिदिनुपर्ने अधिकारीले बताए ।

नेपाल राष्ट्र बैंैकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल नियमनकारी र सेवा प्रदायकबीचमा असहमति रहनु स्वाभाविक भएको भन्दै सबैलाई ‘इक्वल ट्रिट’ गरिएको बताउनुहुन्छ । पछिल्लो समय राष्ट्र बैंक धेरै उदार रहेको बताउँदै उनले सेवा प्रदायकले अब सचेतना बढाउँदै पहुँच विस्तारमा ध्यान दिनुपर्ने बताए । प्रविधि र पोलिसीमा कहिलेकाहीँ तालमेल नमिल्ने भन्दै उनले आवश्यकताअनुसार बिस्तारै डिजिटल करेन्सीमा समेत जान सकिने जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय पेमेन्टका लागि अहिले तत्कालै खुकुलो गर्न नसकिने बताउँदै कार्यकारी निर्देशक नेपालले बैंकिङ सुरक्षा र उपभोक्ताको डेटा प्राइभेसीमा राष्ट्र बैंक चनाखो रहेको जानकारी दिनुभयो । कार्यक्रममा प्रभु बैंक लिमिटेडका आइटी प्रमुख रत्नतारा वैद्य, प्रभु पेका सिइओ खुसल रेग्मी, खल्ती डिजिटल वालेटका सिइओ अमित अग्रवालले डिजिटल लिट्रेसीमा ध्यान दिँदै दूरदराजमा पहँुच विस्तार गर्न राष्ट्र बैंक तथा सेवा प्रदायकलाई सुझाव दिनुभएको थियो ।

पूर्वमन्त्री गणेश शाहले अबको समय सूचना प्रविधिको क्षेत्रमा अघि बढिरहेको बताउँदै बैंकिङ सिस्टम सरल र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र बैंकले समयानुकूल पोलिसी परिमार्जन गर्दै इन्नोभेशन र कोलाब्रेशनमा ध्यान दिएर अघि बढ्नु आवश्यक छ ।”

सन् १९९० मा पहिलोपटक नेपालमा क्रेडिट कार्डको शुरुआत भएको थियो भने सन् २००२ मा पहिलोपटक कुमारी बैंकले ई–बैंकिङको शुरुआत गरेको थियो । अहिले नेपालमा १३ वटा पेमेन्ट सर्भिस प्रोभाइडर छन् भने नौवटा पिएसओ (पेमेन्ट सर्भिस अपरेटर) सेवा राष्ट्र बैंकको अनुमतिबाट सञ्चालनमा छन् । सबै किसिमका डिजिटल पेमेन्ट प्रयोगकर्ता एक करोडभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

लकडाउनको समयमा डिजिटल कारोवारको महत्व बढ्नाका साथै प्रयोगकर्ताहरू पनि थपिएका छन् । अहिले अधिकांश वाणिज्य तथा विकास बैंकले अनलाइन र मोबाइल बैंकिङलाई प्रवद्र्धन गरिरहेका छन् । एक वर्षको अवधिमा पिएसपी सेवा प्रदायकहरू ई–सेवा, आइएमई पे, प्रभु पे, खल्ती, सेल पे जस्ता डिजिटल वालेटका ग्राहकहरूमा उल्लेख्य बढोत्तरी भएको छ भने कनेक्ट आइपिएसले सरकारी सेवामार्फत हुने आम्दानीको पाँचदेखि सात प्रतिशत कारोवार अनलाइनमार्फत गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.