अर्थ

एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन गरिने

आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त परिमाणमा बिजुली जाडिनेछ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडलले शनिबार प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनालाई शीघ्र सम्पन्न गर्न प्रोत्साहित गर्ने उल्लेख छ । यस्तै सरकारले अर्धजलाशय र जलाशयुक्त आयोजना निर्माणलाई समेत विशेष प्राथमिकतामा राखेको छ । आगामी आवभित्र ४३ जिल्लामा पूर्णरूपमा विद्युतीकरण गरी उज्यालो नेपाल निर्माणलाई एउटा निष्कर्षमा पुर्याउने विषयलाई बजेटले महत्वका साथ समावेश गरेको छ ।



सरकारले ऊर्जा क्षेत्रका लागि कूल रु एक खर्ब २१ अर्ब ९७ करोड बराबरको बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । ऊर्जा दक्षता कार्यक्रमलाई समावेश गरिएको छ भने विपन्न नागरिकको घरमा निशुल्क रुपमा विद्युत् जडान गर्ने कार्यक्रम समेटिएको छ ।

सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक बजेट विनियोजित समेत गरेको बताउनुभएको हो ।

दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणकार्य सरकारले गरिरहेको छ तर कोरोना संक्रमण फैलिएसँगै अन्वेषण कार्यमा संग्लग्न चिनियाँ टोली २०७६ चैतमा चीन फर्किएपछि यो कार्य रोकिएको छ ।

चिनियाँ टोलीले दैलेखमा रहेको श्रीस्थान, नाबिस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै रहेको भनी विभिन्न चरणको अन्वेषणकै क्रममा जनाइएको थियो । उक्त टोलीले पहिलो चरण संभाव्यता अध्ययन र दोस्रो चरण ड्रिल मेसिनमार्फत अन्वेषण कार्य गरिसकेको छ । दैलेखको पेट्रोललाई उत्खनन्का सरकारले प्राथमिकता राखेकोमा सरकारलाई धन्यवाद प्रकट गरेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जानकारी दिनुभयो ।

अब सरकारले उच्च प्राथमिकता राखी पेट्रोलियम पदार्थको उत्खनन गरिने हुँदा दैलेखमा आर्थिक विकासका गतिविधि हुने र जनताको आर्थिक उन्नति र जिल्लाकै भविश्य उज्ज्वल हुने आशा बढेको उहाँले बताउनुभयो । निरन्तर बलिरहेको ज्वाला अब पेट्रोलियम पदार्थका रुपमा भण्डारमा परिणत हुने र नेपालको मानचित्रमा दैलेख नयाँ रुपमा उल्लेख हुने पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button