राजनीति

सात मन्त्री र एक राज्यमन्त्री नियुक्त, एमाले प्रवेश गरेका माओवादीबाट नैनकला

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्नुभएको छ । नयाँ मन्त्रिमण्डलमा निकै चासोका साथ हेरिएको गृहमा कास्कीका खगराज अधिकारी र माओवादी छाडेर एमाले बनेकाहरुका तर्फबाट पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई सूचना तथा संचार प्रविधि मन्त्री बनाइएको छ ।

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।



राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ” ।

नवनियुक्त मन्त्रीहरुमा गृहमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ ।

त्यसैगरी, आशाकुमारी वि.क.लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

माओवादी छाडेर एमालेमा केपी ओलीलाई साथ दिएकाहरु मन्त्री बन्न सर्वोच्च अदालतको आदेशले रोकेपछि सो समूहको प्रतिनिधित्वका रुपमा थापालाई संचारमन्त्री बनाइएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button