क्रिकेटखेल

आईसीसी लिग २ : नेपाल अमेरिकासँग पराजित

अमेरिकामा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा बिहीबार बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै सोमपाल कामीले ४७ रन जोड्दा देव खनालले ३४ रन बनाए ।

आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए। दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४, करण केसीले १ र कप्तान सन्दीप लामिछाने शून्य रन आउट भए ।

नेपालका लागि छैठौं विकेटका लागि आरिफ र सोमपालले १ सय ६ रनको कीर्तिमानी साझेदारी गर्दै खेलमा पूनरागमन गराएका थिए ।

तर अन्तिम ७ रन जोड्दा पाँच विकेट गुमाएपछि नेपाल पराजित हुन पुगेको हो । अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले समान ३-३ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । अमेरिका गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाए । सुशान्त मोदानीले ५४ रनको योगदान दिए ।

आरोन जोन्सले ४३ रन जोड्दा सैटिजा मुक्कामल्लले ३६ रन बनाए भने निसर्ग पटेल १८ रन अविजित रहँदा क्यामरून स्टेभेनसन १६ रनमा अविजित रहे।

नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

यो नतिजासँगै अमेरिका २४ खेलबाट २३ अंक जोड्दै चौथो स्थानमा कायमै छ। पराजित नेपाल १६ खेलबाट १५ अंक जोड्दै पाँचौ स्थानमा छ।

शीर्ष स्थानको ओमानले सबै ३६ खेलबाट २१ जित र १३ मा हारका साथ ४४ अंक जोडेको छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैठौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.