अर्जेन्टिना फिफा विश्वकप २०२६ मा अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।
अमेरिकाको डालास स्टेडियममा भएको खेलमा अर्जेन्टिनाको लागि कप्तान लियोनल मेसी, जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले समान एक-एक गोल गरे भने जोर्डनका लागि मुसा अल–तमारीले सान्त्वना गोल गरे ।
खेलको १९औं मिनेटमा जियोभानीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३१औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा खेलको ५५औं मिनेटमा जोर्डनका अल–तमारीले गोल गर्दै खेलमा फर्किने प्रयास गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि, दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेसीले खेलको ८०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३-१ को जित दिलाए । समूह ‘जे’ मा अर्जेन्टिनाले ३ खेलबाट ९ अंक जोड्दै समूह विजेता बन्यो भने जोर्डन अंकविहीन बन्न पुग्यो । त्यस्तै समान खेलमा ४-४ अंक जोडेका अल्जेरिया र अष्ट्रिया पनि क्रमश: दोस्रो र तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरे ।
अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो ।




प्रतिक्रिया राख्नुहोस्