जन सरोकार

एकैपटक चालीस जनाले गरे आँखा दानको घोषणा

झापा मेचीनगर नगरपालिका–१० का ४० जनाले एकैपटक आँखाको नानी (कर्निया) दान गर्ने घोषणा गरेका छन् । ज्येष्ठ नागरिक मेचीनगर–१० ले आयोजना गरेको कार्यक्रममा ४० वर्षदेखि ८० वर्ष उमेर समूहका व्यक्तित्वहरुले आँखाको नानी दान गर्ने सामूहिक घोषणा गर्नुभएको हो ।

मेची नेत्रालय काँकरभिट्टाले उहाँहरु सबैको आँखाको नानी दान गर्ने इच्छापत्रमा शनिबार हस्ताक्षर गराएको छ । संस्थाका सल्लाहकार स्वाथ्यकर्मी हेमन्तराज दवाडीले इच्छापत्रमा हस्ताक्षर गरेकाहरुको मृत्युपछि आँखा प्राविधिकले आँखाको नानी झिकेर लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, “आँखादान सबभन्दा महत्त्वपूर्ण दान हो । त्यही भएर मैले इच्छापत्रमा हस्ताक्षर गरेको हुँ ।” जिल्लामा सन् २०१८ बाट आँखाको नानी दान गर्ने अभियान सुरु भएको थियो ।

विर्तामोडका ८७ वर्षीय कृष्णप्रसाद ओलीले आँखाको नानी दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेपछि अभियानको सुरुआत गर्नुभएको थियो । मेची आँखा अस्पताल विर्तामोडको ‘कर्निया कलेक्सन सेन्टर’ मार्फत आँखा दानका लागि इच्छापत्रमा हस्ताक्षर गर्ने हालसम्म पाँच सय जना बढी रहेका छन् ।

अस्पतालका नेत्र सहायक पुष्प अधिकारीले जिल्लामै अझै पनि चेतनाको अभावमा आँखा दान गर्नेहरुको संख्यामा बृद्धि हुन नसकेको बताउनुभयो । उहाँले जिल्लाभरका स्वास्थ्यकर्मी, हेल्थपोस्टका प्रमुख, रोटरी क्लबलगायत विभिन्न सङ्घसंस्थामार्फत आँखा दानका लागि जनमानसमा सचेतना जोगाउने कार्यक्रम भइरहेको जानकारी दिनुभयो । “मृत्यु भएपछि नाश हुने आँखाले कसैले नयाँ जीवन पाउँछ भन्ने सोच मान्छेमा कम छ”, उहाँले भन्नुभयो, “यसको उपयोगिताबारे सबै क्षेत्रबाट जनचेतना फैलाउनुपर्छ ।”

उहाँले विसंं २०७४ मा स्थापना गरेको सेन्टरमा जन्मोत्सवको अवसर पारेर पनि आँखाको नानी दान गर्ने पछिल्लो समय अस्पतालमै आउन थालेको बताउनुभयो । उहाँले चालु आवमा मेची आँखा अस्पतालमा मात्र ७२ जनामा आँखाको नानी प्रत्यारोपण गरेको बताउनुभयो । जिल्लामा हालसम्म स्वयं मृतक आफैँले हस्ताक्षर गरेको इच्छापत्र र परिवारका सदस्यले फाराम भरेको स्वीकृत पत्रको आधारमा छ जनाको मृत्युपछि आँखा निकालिएको नेत्रसहायक अधिकारीले जानकारी दिनुभयो । उहाँले हालसम्म नेपाल आँखा बैंकबाट नै कर्निया मगाएर अस्पतालले प्रत्यारोपण गर्दै आएको बताउनुभयो ।

उहाँले मृत शरीरबाट निकालिएको आँखालाई पुन जाँच गर्नुपर्ने भएका कारण नेपाल आँखा अस्पतालमै पठाउने गरेको बताउनुभयो । जिल्लामा मेची नेत्रालय र मेची आँखा अस्पतालमा कर्निया कलेक्सन सेन्टर रहेका छन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.