सरकारको सय दिन एकसय १८ खर्ब रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो सय दिनमा सुशासन, विकास र नीतिगत सुधारमा प्रभावकारी काम भएको औपचारिक जानकारी प्रतिनिधिसभालाई गराएको छ।
धबार बसेको बैठकमा प्रतिनिधिसभाको बैठकमा सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको सय दिने कार्यसम्पादनबारे विस्तृत विवरण प्रस्तुत गर्दै यस अवधिमा सशुासनलाई उच्च प्राथमिकता दिइएको र एकसय १८ अर्ब रुपैयाँ बराबरको विगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले सुशासन, सेवा प्रवाह, आर्थिक सुधार, पूर्वाधार विकास, लगानी प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषि तथा सामाजिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा सरकारले हासिल गरेका उपलब्धिहरू संसद्समक्ष प्रस्तुत गर्नुभयो।
उहाँले सरकारले जिम्मेवारी सम्हालेको पहिलो सय दिनमै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई सरल, छरितो र प्रविधिमैत्री बनाउने प्रयास गरिएको बताउनुभयो।
विकास आयोजना कार्यान्वयनमा तीव्रता, नीतिगत सुधार, सार्वजनिक सेवामा पारदर्शिता तथा सुशासन प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ थियो।
मन्त्री पोखरेलले आर्थिक गतिविधि चलायमान बनाउने, निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने तथा रोजगारी सिर्जनामा केन्द्रित विभिन्न निर्णयहरू कार्यान्वयनको चरणमा रहेको जानकारी पनि गराउनुभयो। साथै, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, ऊर्जा तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न योजनामा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो।
यसअघि गत असार २० गते आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री पोखरेलले सरकारका सय दिनका उपलब्धिबारे आमनागरिकलाई जानकारी गराउनुभएको थियो। सोही विवरणलाई संसद्को अभिलेखमा समावेश गराउने उद्देश्यले प्रतिनिधिसभाको बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिएको हो।
सरकारले आफ्नो पहिलो सय दिनलाई सुशासन, सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र विकास निर्माणलाई गति दिने आधारकालका रूपमा व्याख्या गरेको छ भने आगामी दिनमा परिणाममुखी कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ।




प्रतिक्रिया राख्नुहोस्