नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासंग नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसले बिहिबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सो भेटमा नेपालको स्वास्थ्य क्षेत्रको विकास तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको समाचारमा जनाइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल–नर्वेबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यको समीक्षा तथा आगामी दिनमा साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो।
छलफलका क्रममा नर्वे सरकारको सहयोगमा सञ्चालन भइरहेका स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको आधुनिकीकरण, मानसिक स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य शिक्षा तथा अनुसन्धान, मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम तथा दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारजस्ता कार्यक्रमबारे समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।
भेटमा मन्त्री मेहताले नेपालमा नसर्ने रोगको बढ्दो भार, मानसिक स्वास्थ्यसम्बन्धी चुनौती, जलवायु परिवर्तनका कारण जनस्वास्थ्यमा देखिएका नयाँ जोखिम तथा स्वास्थ्य सेवामा प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने आवश्यकतामाथि विशेष जोड दिनुभएको थियो।
उहाँले गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउन स्वास्थ्य पूर्वाधार निर्माण, स्वास्थ्य सेवाको डिजिटाइजेशन, टेलिमेडिसिन, स्वास्थ्य पर्यटनको प्रवर्द्धन, औषधिजन्य जडीबुटीको संरक्षण तथा व्यावसायिक विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यी क्षेत्रमा नर्वेसँग थप सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।
मन्त्री मेहताले नेपालको संघीय स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन क्षमता अभिवृद्धि, स्वास्थ्यकर्मीको दक्षता विकास, अनुसन्धान तथा नवप्रवर्तनमा समेत अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको धारणा राख्नुभएको मन्त्रालयले जनाएको छ।
राजदूत ड्याग्नी म्योसले नर्वे सरकारले नेपाल सरकारका विकास प्राथमिकताअनुसार स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, जलवायु परिवर्तन तथा दिगो विकासका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले आगामी दिनमा स्वास्थ्य क्षेत्रका नयाँ सहकार्य कार्यक्रम अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै नेपालको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन नर्वे सकारात्मक रहेको बताउनुभयो।
भेटवार्तामा दुवै पक्षले प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने, दिगो विकास लक्ष्य ९एसडीजी० अन्तर्गत स्वास्थ्यसम्बन्धी लक्ष्य हासिल गर्न विकास साझेदारबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिएका थिए।
नेपाल र नर्वेबीच स्वास्थ्य, शिक्षा, ऊर्जा, वातावरण तथा दिगो विकासलगायत विभिन्न क्षेत्रमा दशकौँदेखि विकास साझेदारी रहँदै आएको छ।
विशेष गरी मातृ तथा बाल स्वास्थ्य, स्वास्थ्य अनुसन्धान, समुदायमा आधारित स्वास्थ्य सेवा र स्वास्थ्य प्रणाली सुदृढीकरणमा नर्वेको सहयोगलाई नेपालको स्वास्थ्य क्षेत्रका महत्वपूर्ण साझेदारीमध्ये एक मानिन्छ।




प्रतिक्रिया राख्नुहोस्